कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भइ थुनामा रहेका एक ब्यक्ति नाटकीय ढंगले भागेका छन्।
जिल्ला कारागारको घोराहीस्थित थुनामा रहेका दाङको राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाटै प्रहरीको मोटरसाईकल लिएर फरार भएका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार परियार कारागारका नाइके हुन्। परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएको एसपी काफ्लेले सेतोपाटीलाई बताए।
उपचारका लागि भनेर हतकडी खोलेपछि परियार तीनै प्रहरी जवान चौधरीको मोटरसाइकल लिएर फरार भएका हुन्। परियार भागेपछि त्यसमा चौधरीको मिलेमतो हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको एसपी काफ्लेले जानकारी दिए।
घटनाबारे चौधरीले दिउँसो चार बजेतिर मात्रै अवगत गराएकाले आशंका गर्ने प्रशस्त आधार रहेको उनले बताए।
‘हामीले प्रहरी जवान चौधरीलाई थुनामा राखेका छौं,’ एसपी काफ्लेले भने, ‘परियारलाई भगाउन चौधरीलेनै भूमिका खेलेको आधारहरू देखिएका छन्।’
कर्तब्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाए तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए।
फरार रहेका परियारको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ ।