मकवानपुरमा आज बेग्लाबेग्लै स्थानमा एक पुरूष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
फरक-फरक स्थानमा दुई महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने मृत अवस्थामा एक पुरूषको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ सिँचाइ टोलमा बस्ने १८ वर्षीया आरती घिमिरे कोठामा र मकवानपुरगढी गाउँपालिका-६ बस्ने ४२ वर्षीया सुनमाया रुम्वा गोलेको शव घर नजिकै रूखमा झुण्डिएको अवस्था फेला परेको जिल्लाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।
उक्त दुवै शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको छ।
मकवानपुरगढी गाउँपालिका-७ सुकौरामा आज अन्दाजी २५ वर्षीय एक पुरूषको शव फेला परेको छ।
स्थानीय बासिन्दाले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाएको जनाएको छ।
शवको पहिचान खुल्न सकेको छैन।