दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल कलेजको लागि नवलपुर बहुउद्धेश्यीय सरोकार समितिले झन्डै साढे २० बिगाहा जग्गा प्रदान गर्ने भएको छ।
समितिका अध्यक्ष बलिभद्र रानाको पहलबाट घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरमा २० बिगाहा ९ कट्ठा जग्गा मेडिकल कलेजले पाउने लगभग निश्चित जस्तै भएको हो।
हालसम्म जग्गा नपाउँदा प्रतिष्ठानले मेडिकल कलेज सञ्चालन गर्न सकिरहेको थिएन।
प्रतिष्ठानलाई नि:शुल्क प्रदान गर्न थालिएको जग्गाको हालको मूल्य लगभग सवा दुई अर्ब जति पर्ने अध्यक्ष रानाले बताए।
अधिकांश जग्गा स्थानीयले चर्चिदै आएका थिए भने केही जग्गा घोराही नगर विकासको नाममा समेत रहेको अध्यक्ष रानाले जानकारी दिए।
आफ्नै ठाउँमा अस्पताल बने सर्वसाधारणले घर नजिकै स्तरीय सेवा सुविधा पाउने आशाका साथ सबैलाई मनाएर जग्गा प्रतिष्ठानलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष रानाले सेतोपाटीलाई बताए।
उक्त जग्गा मेडिकल कलेजका लागि दिने भनेर सरोकारवाला पक्षका बीचमा सम्झौता समेत भइसकेको अध्यक्ष रानाले जानकारी दिए।
अब आवश्यक प्रक्रिया पूरा गरी क्याबिनेटबाट त्यो पारित हुन बाँकी रहेको छ।
पुस ४ गते सरोकार समिति र प्रतिष्ठानबीच जग्गा दिनेबारे सम्झौता भएको थियो। प्रतिष्ठानका निमित्त उपकुलपति डा. बसन्त लामिछाने र सरोकार समितिका अध्यक्ष रानाका बीचमा जग्गा उपलब्ध गराउने सम्झौता भइसकेको छ।
घोराहीका मेयर नरूलाल चौधरीको रोहवर र प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापालाई साक्षीका रूपमा राखिएको छ।
मेडिकल कलेज सञ्चालन गर्न न्यूनतम मापदण्ड अनुसार जग्गा पुगेका हुँदा अब प्रक्रिया अघि बढ्ने प्रतिष्ठान प्रशासनले जनाएको छ।
प्रतिष्ठानलाई आवश्यक परेको खण्डमा थप जग्गा समेत प्रदान गर्न सकिने सरोकार समितिका अध्यक्ष रानाले बताए।
‘हामी घोराहीको नारायणपुर लगायतका क्षेत्रमा पनि प्रतिष्ठानका लागि थप जग्गा खोजी रहेका छौं,’ अध्यक्ष रानाले भने, ‘जिल्लामा अहिलेसम्म एउटा पनि मेडिकल कलेज नभएको हुँदा सर्वसाधारणले पाउनु सास्ती पाएको हुँदा सबै मिलेर अस्पतालको विकासमा लाग्न आवश्यक छ।’
प्रतिष्ठानका लागि घोराहीको नारायणपुर, झिङ्नी र देउखुरी क्षेत्रमा पनि जग्गा खोजीको प्रयास भइरहेको प्रतिष्ठानका प्रेस संयोजक निशान दाजु भट्टराईले जानकारी दिए।
माधवकुमार नेपालले गरे स्थलगत अनुगमन
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजका लागि नि:शुल्क प्रदान गरिएको जग्गाको स्थलगत अवलोकन गरेका छन्।
त्यसक्रममा निमित्त उपकुलपति डा. लामिछानेले उपक्षेत्रीय अस्पताल हुँदै प्रतिष्ठानसम्म आइपुग्दा अस्पतालले गरेका प्रगति र उपलब्ध सेवाबारे अध्यक्ष नेपाललाई अवगत गराएका थिए।
उपकुलपति लामिछाने र समितिका अध्यक्ष रानाले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई घोराहीको नवलपुरमा मेडिकल कलेज सञ्चालन गर्नको लागि जग्गा प्रातिको प्रक्रिया अन्तिम चरणमा रहेको हुँदा अब त्यो क्याबिनेटबाट पारित गराउनका लागि सहयोग मागेका थिए।
जवाफमा अध्यक्ष नेपालले आफ्नै पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको हुँदा त्यो जग्गा प्राप्तिका लागि क्याबिनेटबाट निर्णय गराउनेदेखि भौतिक संरचना निर्माणमा समेत सघाउने प्रतिबद्धता जाहेर गरेका थिए।
त्यस्तै, लामिछानेले प्रतिष्ठानमा दक्ष जनशक्ति तथा चिकित्सकको आवश्यकता रहेको भन्दै त्यसका लागि पनि केन्द्रमा पहल गरिदिन आग्रह गरेका थिए। नेता नेपालले स्वास्थ्य मन्त्रालयसँग आफूले कुरा गर्ने आश्वासन दिएका थिए।