सल्यानमा गत असारमा एक जना वृद्ध महिलालाई कर्तव्य गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
मुख्य आरोपित भनिएका फरार युवक भने शनिबारमात्रै पक्राउ परेका छन्।
गत असार ११ गते राति ९ बजे जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ झिम्पेमा ७० वर्षीया जमनी बुढा मगरको हत्या आरोपमा आफन्त र नातेदार नै पक्राउ परेका हुन्।
जमनीको हत्या हुँदा उनका पाँचै भाइ छोरा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा मजदूरी गर्न गएका थिए।
त्यतिखेर आमाको मृत्युबारे छोरालाई काका बालाराम बुढाले भर्याङबाट लडेर मृत्यु भएको कुरा फोनमार्फत् जानकारी दिएका थिए।
त्यसपछि छोराहरूले लडेर मृत्यु भएको हो भने परम्परा अनुसार अन्तिम संस्कार गर्न आग्रह गरेका थिए। उतिखेर कोरोना भाइरसको कारण छोराहरू भने घर आउन नपाएको प्रहरी जानकारी दिएको छ।
यसरी खुल्यो हत्याको रहस्य
सल्यान प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार जमनीको मृत्युबारे उतिबेला देवर बालाराम बुढाले भर्याङबाट लडेर मृत्यु भएको कुरा प्रहरीमा पनि जानकारी दिएका थिए।
जब केही समय जमनीका छोराहरू घर फर्किए उनीहरूले गाउँलेबाट फरक कुरा थाहा पाए। गाउँलेहरूले उनीहरूको आमा जनमीको मृत्यु भर्याङबाट लडेर नभई आफूहरूले झुण्डिएर आत्महत्या गरेको अवस्थामा देखेको कुरा गरिदिए।
गाउँलेको कुराको आधारमा जमनीका साइँलो छोराले जिल्ला प्रहरी कार्यालय सल्यानमा पुगेर आफ्नी आमाको लडेर मृत्यु नभई हत्या भएको भनेर किटानी जाहेरी दिए।
डिएसपी खड्काका अनुसार नेत्रले दश दिन अगाडि प्रहरीमा आएर आमाको हत्या भएको भन्दै घटना अनुसन्धानमा सघाउन आग्रह गरेपछि प्रहरीले अनुसन्धान थालेको हो।
जमनीका साइलो छोरा नेत्रको जाहेरीका आधारमा प्रहरीले उनकी काइँली बुहारी सुशीला बुढा मगर, माइली बुहारी चमेली बुढा मगर र देवर बालाराम बुढा मगरलाई अनुसन्धानका लागि नियन्त्रणमा लियो।
त्यही बीचमा बालारामका छोरा २० वर्षीय कमल बुढा फरार भए। फरार रहेका कमललाई प्रहरीले शनिबारमात्रै पक्राउ गर्न सफल भयो।
हत्याको कारण अनैतिक सम्बन्ध
पक्राउ परेपछि ७० वर्षीय जमनीको हत्याको कारण खुल्यो।
‘सुशीला बुढा र कमल बुढाका बीचमा अनैतिक सम्बन्ध जमनीले देखेपछि हत्या भएको तथ्य खुल्यो,’ डिएसपी खड्काले भने,‘पक्राउ परेकाहरू घटना स्वीकार गरिसकेका छन्।’
कमल र सुशीलाले आफ्नो अनैतिक सम्बन्ध जमनीले भनिदिने त्रासका कारण घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी खड्काले बताए।
हत्यापछि घटना ढाकछोप गर्न कमलका बुवा बालारामले नै भाउजु जमनीको भर्याङबाट लडेर मृत्यु भएको भनेर छोरा र प्रहरी सबैलाई ढाँट्न खोजे पनि सत्य कुरा ढिलै भए पनि पत्ता लागेको डिएसपी खड्काले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि डिएसपी खड्काले बताए।