प्रहरीको मोटरसाइकल लिएर फरार घोराही कारागारका नाइके २८ वर्षीय यमराज परियारलाई भगाउन युवतीको प्रयोग भएको पाइएको छ।
‘सिसी टिभी फुटेजले युवतीको संलग्नता पुष्टि भएको हो,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘योजना अनुसार युवतीको प्रयोग गरि उसलाई भगाइएको स्पष्ट जस्तै भइसकेको छ।’
परियारलाई भगाउन भूमिका खेलेको भन्दै प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ।
बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीले आफ्नो लु १४ प ४१० नम्बरको मोटरसाइकलबाट कारागारका नाइके यमराज परियारलाई उपचार गर्न लगेका थिए।
चौधरीले परियारलाई सोझै अस्पताल नलगेर घोराहीस्थित प्याराडाइज होटेल एण्ड रेष्टुँरामा खाजा खान लगेका थिए।
त्यसपछि एउटा रेष्टुँरामा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर फरार भएका थिए।
‘खाजा खाने क्रममा प्रहरी जवान चौधरीलाई युवतीसँग भुलाएर परियार भागेको देखिएको छ,’ ती प्रहरी अधिकारीले भने, ‘प्रहरीले सोमबार बेलुकासम्म घटनाबारे अध्ययनबाट प्राप्त विवरण सार्वजनिक गर्नसक्छ।’
कारागारका नाइके परियारलाई भगाउन युवतीको प्रयोग हुनुमा योजनाबद्ध रूपमा काम भएको अनुसन्धानमा खटिएका ती अधिकारीले दाबी गरे।
जेलर युवराज बिदामा थिए
जिल्ला कारागार घोराहीका जेलर युवराज परियार जिल्ला प्रशासन कार्यालयमा तानिएका छन्।
कारागारका नाइके यमराज परियार भागेपछि जेलर परियारलाई जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यायमा तानिएको हो।
सेतोपाटीलाई प्राप्त सूचना अनुसार कारागारका जेलर पुस ६ गतेदेखि १३ गतेसम्म बिदामा बसेका थिए। तर, त्यहीँ बिचमा बिदा बसेका जेलर परियारले कारागारका नाइके यमराजलाई पुस ८ गते आएर आफैं औषधि उपचारका लागि जान दिएका थिए।
‘जेलर युवराजको भूमिका निकै संकास्पद देखियो,’ घटना अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने, ‘उहाँले नै आफूखुसी यमराजलाई कारागारको नाइके पनि तोकेकाले घटना थप रहस्यमय देखिएको छ।’
ती प्रहरी अधिकारीका अनुसार जेलर परियारले नाइके परियारलाई कारागार मात्रै होइन आफ्नो कार्यालयमा आउन-जान तथा सँगै उठबसमा पनि पुरै स्वतन्त्रता दिएका थिए।
गर्भवती प्रेमिकाको हत्यापछि जेल परेका थिए यमराज
प्रहरी अधिकारीका अनुसार राजपुर गाउँपालिका बेलकाका यमराज परियारले कतर्व्य ज्यान मुद्दामा जेल परेका थिए।
प्रहरीका अनुसार, २०७१ जेठ २२ गते साविक सतवरिया गाविसकी २३ वर्षीया ४ महिनाकी गर्भवति हेमा चौधरीको हत्या आरोपमा उनी जेल परेका हुन्।
चौधरी यमराज परियारकै प्रेमिका थिइन्।
त्यतिबेला यमराज लमहीस्थित एक फर्निचर उद्योगमा काम गर्थे। साविक चौलाही गाविसका शिवप्रसाद चौधरी पनि यमराज सँगै काम गर्थे। त्यो बिचमा यमराजले मानिसलाई पासो लगाएर मारेको डोरी ३० लाख रूपैंयामा बिक्री हुन्छ भन्ने कुरा सुनेका थिए। कतै सुनेको त्यहीँ गलत कुराको पछि लाग्दै ३० लाख कमाउने लालशा यमराजको मनमा थियो।
त्यसैले यमराज मानिसलाई पासो लगाएर मारेको डोरीको खोजीमा थिए। कतै नपाएपछि सजिलो गरि पासो लगाएर मार्न सकिने ब्यक्ति आफ्नै प्रेमिका हुनसक्ने उनले ठहर गरे।
त्यसपछि नै यमराजले सँगै फर्निचरमा काम गर्ने शिवप्रसादसँग सल्लाह गरि उनकै सहयोगमा हेमाको घाँटी अठ्याएर हत्या गरेको तत्कालिन प्रतिवेदनले बताउँछ।
यमराज शिवराजसँगको सल्लाहमा २०७१ साल जेठ ३ गते मध्यरातमा हेमालाई मोटरसाइलमा राखेर साविक सतवरिया वडा नं. ९ सिमपाखापानी जंगलमा पुर्याएका थिए। प्रहरी प्रतिवेदनका अनुसार हेमालाई जंगलमा लैजाँदा यमराज आफैंले मोटरसाइकल चलाएर हेमालाई बीचमा राखेर शिबराजलाई पछाडि बस्न लगाएका थिए।
अहिलेको सम्राट सिमेन्ट उद्योग भएको वन क्षेत्रको एक खोला किनारमा पुर्याएपछि यमराजले हेमाको घाँटी समाएर मध्यरातमै हत्या गरेको स्वीकार गरेको प्रहरी बताउँछ।
हेमा बेपत्ता भएपछि समाजले प्रेमी यमराजमाथि आशंका गरिरहेको थियो। त्यसैले सोधपुछका लागि यमराजलाई २०७१ साउन ४ गते प्रहरीले नियन्त्रणमा लियो। यमराज पक्राउ परे लगतै शिवराज पनि पक्राउ परे।
पक्राउ परेका यमराज र शिबराजको बयानका आधारमा प्रहरी २०७१ जेठ ६ गते घटनास्थल पुग्यो। त्यतिखेर घटनास्थलमा मानव कंकाल मात्रै फेला परेको थियो।
उक्त मानव कंकालको डिएनए परीक्षण गरियो। अवशेष हेमाकै भएको पुष्टि भएको थियो।
पहिचान नखुलोस् भनेर घाँटीमा कसेको डोरी, शरीरको कपडालगायतका सामग्री उनीहरुले निकालेर खोलामा फालेको कुरा प्रहरीले बताएको छ। त्यहीँ कुरा प्रहरीले आफ्नो अनुसन्धान पूरा गरि सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।
पछि त्यहीँ मिसिलका आधारमा २०७१ भदौ ३ गते दाङ देउखुरी जिल्ला अदालतले यमराज र शिवलाई २० वर्ष कैद फैसला सुनाएको थियो।
झन्डै साढे ७ वर्ष कैद भुक्तान गरिसकेका यमराज नाटकीय ढंगले पुस ८ गते अस्पताल जाने बाहानामा भाग्न सफल भएका हुन्।