प्रहरीकै मोटरसाइकल चढेर फरार भएका घोराही कारागारका नाइके २८ वर्षीय यमराज परियार प्रहरी जवान धनबहादुर चौधरीलाई युवतिसँगै होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर भागेको खुल्न आएको छ।
बिहिबार बिहान करिब ११ बजे कारागारबाट उपचार गराउन भनेर परियारलाई प्रहरी जवान चौधरीले आफ्नै मोटरसाइकलमा लिएर गएका थिए।
अस्पताल जानुको साटो प्रहरी जवान धनबहादुरलाई विश्वासमा पारेर कारागार नाइके यमराजले सबैभन्दा पहिले होटेलमा खाजा खान भनेर पुर्याएका थिए।
होटेलमा खाजा खान गएपछि यमराजको योजना अनुसार उक्त होटेलमा दुई युवती आए। चार जना सँगै बसेर कफी खाएपछि प्रहरी जवान धनबहादुर र यमराज युवतीको साथमा बेग्लाबेग्ला कोठामा प्रवेशका थिए।
यसैबीच यमराजले प्रहरी जवान धनबहादुर र एक युवतीलाई बाहिरबाट चुकुल लगाएर आफू प्रहरी जवान धनबहादुरको मोटरसाइकलबाट भागेको प्रहरी अनुसन्धानले देखाएको छ।
यमराजले भाग्न प्रयोग गरेको लु १४ प ४१० नम्बरको मोटरसाइकल प्रहरीले घोराही-लमही सडकखण्डको मुसोट नजिकै जंगलमा फेला पारेको थियो।
स्रोतका अनुसार कोठामै थुनिएका प्रहरी जवान धनबहादुरलाई बेलुका चार बजेतिरमात्र अरूले ढोका खोलिदिएपछि बाहिर निस्किएका थिए।
प्रहरी हिरासतमा रहेका प्रहरी जवान र दुई युवतीको बयान अनुसार धनबहादुरलाई विश्वासमा पारेर उनी भाग्न सफल भएका थिए।
जिल्ला प्रहरी कार्यालयले घटना अनुसन्धानका लागि तत्कालै जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको संयोजकत्वमा एउटा समिति बनाएको थियो।
यसअघि कारागारका घटना अनुसन्धान गर्ने सम्पूर्ण जिम्मा जेलरलाईनै हुन्छ। तर घोराही कारागारका जेलेर युवराज परियारकोसमेत उक्त घटनामा मिलेमतोको आशंकापछि उनलाई पदमुक्त गर्दै रिजालको संयोजकत्वमा छानिबिन समिति बनाइएको थियो।
परियारलाई जिल्ला प्रशासनमा तानेर उनको स्थानमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई पठाइएको छ।
सेतोपाटीलाई प्राप्त सूचना अनुसार कारागारका जेलर पुस ६ गतेदेखि १३ गतेसम्म बिदामा बसेका थिए। आफू बिदामा बसेकै बेला जेलर युवराजले कारागार नाइके यमराजलाई पुस ८ गते उपचारका लागि अस्पताल लैजाने अनुमति दिएका थिए।
यद्यपी अनुसन्धानबाट यमराज त्यस्तो कुनै पनि बिरामी नभएको खुलेको छ।
‘जेलर युवराजको भूमिका निकै संकाष्पद देखियो,’ घटना अनुसन्धानमा संलग्न एक उच्च अधिकारीले सेतोपाटीसँग भने, ‘उहाँले नै आफूखुसी यसअघि यमराजलाई कारागार नाइके तोकेको देखिनुले घटना थप रहस्यमय देखिएको छ।’
प्रहरी उच्च स्रोतका अनुसार कारागार नाइके यमराज भागेको दिन जेलर युवराज र यमराजबीच दिउँसो साढे दुई बजेतिर फोन सम्पर्कसमेत भएको छ।
‘उहाँहरूबीच के हुरा भयो थाहा भएन तर यमराज फरार भएको एक डेढ घन्टाको अन्तरमा फोन सम्पर्क भएको कल टिडेलबाट खुलेको छ’, स्रोतले भन्यो।
अनुसन्धानमा खटिएका ती अधिकारीका अनुसार नसोचेकै ब्यक्तिकोसमेत यमराज फरार काण्डमा मिलेमतो र संलग्नता देखिएको छ। प्रहरी जवान धनराजको झनै चरम लापरबाही देखिएको छ।
चौकिदारबाट निकालिएका थिए यमराज
गृह मन्त्रीका रूपमा बालकृण्ण खाण आएपछि नेपाली कांग्रेस निकट नेपालगन्जका रिगल ढकाल घोराही कारागारको चौकीदारमा नियुक्त भएका थिए। चौकीदारलाई कारागार भित्र अरूभन्दा अलग स्वतन्त्रता हुन्छ। राम्रो कमाइ पनि हुन्छ।
त्यसपछि यमराजलाई पुनः चौकीदार तोक्न र चौकीदारबाट हटाइएपछि नाइके बनाउन भूमिका पनि जेलर युवराज परियारलेनै खेलेको अनुसन्धानबाट खुलेको स्रोतले दाबी गरेको छ।
यद्यपि यसअघि सेतोपाटीसँगको संवादमा हाल जिम्मेवारीबाट मुक्त गरिएका युवराजले आफ्नो नाइके यमराजसँग कुनै नातागोता र अलग सम्बन्ध नभएको जिकिर गरेका थिए ।
फरार नाइके यमराज पक्राउ नपरे पनि घटनाबारे सबै अनुसन्धान लगभग सकिएकाले सोमबार बेलुकासम्म सबै घटना विवरण सार्वजनिक गर्ने तयारीमा छानबिन समिति र जेल प्रशासन रहेको प्रहरीले जानकारी दिएको छ।
यो पनि