नाइके यमराज परियार भागेपछि प्रहरी नियन्त्रणमा रहेका घोराही कारागारका जेलर यमराज परियारले प्रक्रिया मिचेरै यमराजलाई चौकीदारको जिम्मेवारी समेत दिएको प्रमाण फेला परेको छ।
नेपाल सरकार कारागार व्यवस्थापन विभागको चलानी नं. ३७४ को पत्रअनुसार भदौ २२ गते घोराही कारागारभित्र ब्लक ‘ए’को चौकीदार रिगल ढकाल र ब्लक ‘बी’को चौकीदार सुरतबहादुर बिकलाई तोकिएको छ।
चौकीदारको पद कारागारभित्र स्वतन्त्रता र आयआर्जन गर्ने दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। चौकीदारहरूलाई कार्यालय परिसरभित्र आवात-जावात गर्न अनुमति प्रदान गरिएको हुन्छ।
तर, जेलर युवराज परियारले भदौ २३ गते आफूखुसी चलानी नम्बर ३७६ नम्बरको पत्र तयार गरी कारागारका नाइके यमराज परियारलाई चौकीदारको जिम्मेवारी तोकेको प्रमाण फेला परेको छ।
जेलर युवराजले त्यसको बोधार्थ कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय लगायतलाई दिनुपर्नेमा सो को जानकारी नदिएर राखेको तथ्य फेला परेको छ।
यही तथ्यबाट पनि जेलर परियार र नाइके परियारबीच सम्बन्ध स्पष्ट हुने एक जना अनुसन्धान अधिकृतले बताए।
कारागार व्यवस्थापन विभागको पुस ५ गतेको पत्रमा जेलर परियार घरायसी कामकाजले पुस ६ गतेदेखि १३ गतेसम्म घर बिदामा बसेको तथ्य फेला परेको छ।
जेलर परियार घर बिदामा बस्नु पर्ने भएकाले उक्त अवधिमा निमित्त जेलर भई कामकाज गर्ने जिम्मेवारी कारागार व्यवस्थापन विभागले नासु चित्रबहादुर डाँगीलाई तोकेको स्पष्ट उल्लेख छ।
तर, पुस ८ गते बिदा बसेका जेलर परियारले आफैं कारागारमा उपस्थित भएर कुनै पनि बिरामी नभएका कारागारका नाइके यमराजलाई छालासम्बन्धी उपचारका लागि अस्पताल पठाउने शंकास्पद भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ।
त्यस्तै, नाइके परियार प्रहरी जवान धनबहादुर चौधरीको मोटरसाइकलाई लगेर भागेको झन्डै दुई घन्टापछि पुस ८ गते दिउँसो नै जेलर परियारले नाइके यमराजलाई फोन सम्पर्क गरेको खुल्न आएको हुँदा जेलको भूमिका शंकास्पद देखिएको सुरक्षा स्रोतले बतायो।
तिनै कारणहरूले गर्दा नाइके भागेपछि घटना अनुसन्धानका लागि जेलर युवराजसहित घटनामा नजिकको सम्बन्ध देखिएका सात जनालाई पक्राउ गर्नु परेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।
उक्त दिन राजपुर गाउँपालिकाको बेलाका २८ वर्षीय यमराज प्रहरी जवान चौधरी र युवतीलाई होटलको कोठामा बाहिरबाट चुक्कल लगाएर जवान प्रहरीकै मोटरसाइकल लगेर फरार भएका थिए।
फरार नाइके यमराज आफ्नै गर्भवती प्रेमिका २३ वर्षीया हेमा चौधरीलाई मध्यरातमा जंगलमा पुर्याई घाँटी थिचेर हत्या गरेको अभियोगमा जेल परेका थिए। उनलाई दाङ देउखुरी जिल्ला अदालतले २० वर्ष कैद तोकेकोमा साढे ७ वर्ष सजाय भुक्तानी गरिसकेका थिए।