फरार घोराही कारागारका नाइके यमराज परियारलाई कारागार भित्रै रहँदा पनि बाहिर जस्तै हरेक कुरामा स्वतन्त्रता दिएको खुलेको छ।
बैंक खाता खोल्ने, एटिएम चलाउने, मोबाइल फोन बोक्नेलगायतका सुविधासमेत कारागारले उनलाई दिएको थियो।
कुनै पनि कैदी बन्दीले बैंक खता खोल्न नपाउने भए पनि उनले घोराहीस्थित माछापुच्छ्रे बैंकमा खाता खोलेर एटिएमसमेत चलाउँदै आएका थिए।
घटना अनुसन्धानमा संलग्न एक उच्च अधिकारीका अनुसार नाइके यमराजले ब्यक्तिगत रूपमा चौविसै घन्टा मोवाइल फोनसमेत राख्ने गरेका थिए।
‘यमराजले नमस्ते र एनसेलका दुई वटा सिमकार्ड प्रयोग गर्ने गरेको तथ्य फेला परेको छ, ती अधिकारीले सेतोपाटीसँग भने, ‘यमराजलाई कारागार प्रशासनले यतिसम्मको उन्मुक्ति दिएको रहेछ कि, उनी बिहानै कारागारबाट निस्किएर बेलुका अबेर मात्रै कारागार छिर्ने गर्दा रहेछन्।’
अनुसन्धान अधिकृतका अनुसार उसले चाहेको समयमा कारागार भित्रै युवति ल्याएरसमेत राख्ने गरेका रहेछन्। ती अधिकारीले भने, ‘उसका लागि कारागार नाम मात्रैको थियो, सुबिधा भने लज जस्तै प्रदान गरिएको रहेछ।’
स्रोतका अनुसार यमराजले हालै मुद्दा मिलाउन सहयोग गर्छु भनेर एक जना लागूऔषधका थुनुवासँग पाँच लाख बढी र अर्का एक जनासँग पनि त्यतिकै रकम अशुल गरेको तथ्य फेला परेको छ।
‘वकिललाई पैंसा खुवाउनुपर्छ भनेर उनीहरूसँग पैंसा लगेको कागज नै गरेको देखिएको छ,’ ती अधिकारीले भने, ‘यमराजले त्यसअघि पनि त्यस्ता काम गरेको देखिएको छ ।’
कारागारका जेलर युवराज परियारसँगको सम्बन्धका कारण फरार नाइके यमराजलाई कारागार भित्र हरेक कुराको स्वतन्त्रता दिइएको ती अधिकारीले जानकारी दिए।
प्रहरी हिरासतमा रहेका प्रहरी जवान धनबहादुर चौधरीलाई विश्वासमा पार्न लत्ताकपडा किनिदिने लगायतका काम गरेकोसमेत अनुसन्धानबाट खुलेको छ।
‘आफू भाग्ने दिन यमराजले आफ्नै प्रेमीकालाई प्रहरी जवान धनबहादुर चौधरीसँगै कोठामा पठाएको देखिएको छ,’ ती अधिकारीले भने, ‘आफ्नै प्रेमीकालाईसमेत अरूलाई सुम्पिने यमराजले योजनाबद्ध प्लान गराएको देखिन्छ।’
पुस ८ गते दिउँसो प्रहरी जवान चौधरीलाई ती युवतीसँग घोराहीस्थित एक होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर यमराज भागेका थिए।
यसअघि पनि फरार नाइके यमराज, आफ्नै गर्भवती प्रेमिकाको हत्या अभियोगमा जेल परेका थिए।
दाङ देउखुरी जिल्ला अदालतले यमराजलाई २० वर्ष कैद तोकेकोमा साढे ७ वर्ष सजाय भुक्तान गरिसकेका थिए ।
यमराजलाई भगाउन सहयोगी भूमिका खेलेको अभियोगमा घोराहीका जेलर युवराज परियार, कारागारका असइ रूद्रबहादुर सेन, प्रहरी हवल्दार गणेशकुमार थारू, प्रहरी जवान धनबहादुर चौधरीसहित सात जना पक्राउ परेको घोराही कारागारको समेत जिम्मेवारी सम्हालेका अमर वलीले सेतोपाटीलाई जानकारी दिए।
स्रोतका अनुसार घटनामा संलग्न रहेको आरोपमा मंगलबार थप दुई जना पक्राउ परेका छन्।