नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीका अनुसार कालीकोटको खाँडाचक्र नगरपालिका-६ का धनप्रसाद भट्टराईका परिवारका चार जना बिहीबार बिहान मृत फेला परेका हुन्।
२४ वर्षीय धनप्रसादसँगै उनकी आमा कोपिला, दिदी नन्दकली र तीन महिनाका छोरा इप्सन भट्टराईको निस्सासिएर मृत्यु भएको प्रहरी निरीक्षक घर्तीले जानकारी दिए।
धनप्रसाद अस्पतालमा स्टोर किपरको काम गर्थे। बुधबार दिनभरि परेको पानीले चिसो बढेपछि उनको परिवार एकै कोठामा कोइला बालेर सुतेको थियो।
‘न्यानो बनाउन कोइला बालिएको छ। झ्याल पनि बन्द भएकाले उनीहरूको निस्सासिएर मृत्यु भएको देखिन्छ,’ घर्तीले भने।
घटनामा धनप्रसादको परिवारका तीन जना अरू पनि परेका छन्। उनकी श्रीमती सुशीला बोल्न सक्ने अवस्थामा छन् भने भाइ नरेन्द्र र तीन वर्षका छोरा दिवश अहिले पनि अचेत अवस्थामा छन्।
उनीहरूको भेरी अस्पतालमै उपचार भइरहेको छ।