दाङको तुलसीपुरमा फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीका जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक युवराज उपाध्याय पक्राउ परेका छन्।
कम्पनीका नाममा सर्वसाधारणबाट लाखौं रकम उठाएर ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु आर्यालले सेतोपाटीलाई बताए।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्रीगाउँमा कार्यालय खोलेर घले र उपाध्यायले सर्वसाधारणबाट ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको डिएसपी अर्यालले जानकारी दिए।
केही समय पहिले तुलसीपुर-९ बेलुवाकी ४० वर्षीया अनिता वली महतरासहित ४८ जना उक्त कम्पनीका कर्मचारीहरूले संयुक्त रूपमा इप्रका तुलसीपुरमा ठगी मुद्दामा जाहेरी दिएका थिए।
ती कर्मचारीहरूले घले, उपाध्याय र सुमन भनिने मानबहादुर देउवाविरूद्ध किटानी जाहेरी दिएका थिए।
फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनीले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकालाई कार्यक्षत्र बनाएर कार्य गर्दै आएको थियो।
कम्पनीले ती स्थानका सर्वसाधारण कृषकको उन्नतिका लागि भन्दै किसानलाई सदस्य बनाउने बहानामा प्रतिकिसान ५ सय रुपैयाँका दरले रकम संकलन गरेको थियो।
जसका लागि विभिन्न कर्मचारी नियुक्त गरी उनीहरूमार्फत् समूह बनाएर रकम संकलन गर्नुका साथै बीमा बनाउने भनेर रकम समेत संकलन गर्न लगाएको ४८ कर्मचारीले दिएको जाहेरीमा उल्लेख छ।
त्यसरी संकलितमध्ये बीमा बापतको ९ लाख ५० हजार रुपैयाँ, कम्पनीको सेयर बनाउने भनेर ५ जनाबाट ३ लाख रुपैयाँका दरले संकलित रकम १५ लाख रुपैयाँ, विदेश पठाइ दिने भनेर एक जनाबाट संकलित ७ लाख र ४३ जना कर्मचारीलाई ७ महिना सम्मको दिन बाँकी तलब ५५ लाख ७७ हजार ८ सय रुपैयाँ रकम समेत ठगी गरेको भन्दै पीडित ४८ जनाले प्रहरीमा जाहेरी दिएका छन्।
उनीहरूमध्ये एक जनालाई बर्दिया जिल्ला प्रहरी कार्यालयको सहयोगमा र अर्का एक जनालाई बाँके प्रहरीको सहयोगमा केही दिनअघि पक्राउ गरी दाङमा ल्याइएको हो।
पक्राउ परेकाविरूद्ध अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिए।
आरोपितमध्ये सुमन भनिने मानबहादुर देउवा भने राजनीतिक पहुँचका आधारमा जोगिँदै आएको हुँदा पीडितले उनलाई पनि तत्काल पक्राउ गरी आफूहरूलाई न्याय दिन माग गर्दै आएका छन्।
तर, देउवाले भने आफू कतै नभागेको र असुलेको रकम फिर्ता गर्ने दाबी फोनमार्फत् प्रहरीलाई बताउने गरेको एक प्रहरी अधिकारीले बताए।
उनले लकडाउनका कारण समस्या भएको भन्दै छिट्टै रकम फिर्ता गर्ने बताउने दाबी गर्ने गरेको प्रहरी अधिकारीले जानकारी दिए।
यो पनि:
समूह बनाउने बहानामा झण्डै ७० लाख ठगेर सुगम फरार भएको पीडित पक्षको दाबी