बैतडीबाट अपहरणमा परेका भनिएका शिक्षकको बाँकेको राप्ती नदी किनारबाट उद्धार गरिएको छ।
बैतडीको सुर्नया गाउँपालिकाका २३ वर्षीय अस्थायी शिक्षक हरिश अवस्थीलाई शुक्रबार बेलुका ८ बजे बाँकेस्थित राप्ती नदी किनारबाट उद्धार गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले सेतोपाटीलाई बताए।
‘उहाँलाई हामीले राप्ती नदी किनारबाट उद्धार गरेका हौं,’ एसपी अधिकारीले भने, ‘उहाँको कपडा, मोबाइल, पैसा सबै भिजेको अवस्थामा थियो।’
उद्धारपछि प्रहरीले अवस्थीलाई भेरी अस्पताल पुर्याएको थियो। एसपी अधिकारीले त्यहाँको उपचारपछि न्यानो कपडा किनिदिएर अवस्थीलाई प्रहरीले सुरिक्षत राखेको जानकारी दिए।
‘उहाँ अहिले हाम्रै साथमा हुनुहुन्छ र अवस्था सामान्ने छ,’ एसपी अधिकारीले भने, ‘घटनाबारे थप अनुसन्धान हुन बाँकी नै छ।’
अवस्थीले बैतडीबाट आफूलाई केही युवाहरूले २२ गते बिहान ८ बजे जबरजस्ती गाडीमा ल्याएको प्रहरीसँग बताएका छन्।
‘आधा घन्टा मात्रै तेरो सयम छ अन्तिम इच्छा भए भन्नू भनेर उनीहरूले राप्तीमा धकेली दिए। म पौडी खेल्न जानेको हुँदा पौडीएर ज्यान जोगाउन सफल भएँ,’ अवस्थीको भनाइ उद्धत गर्दै एसपी अधिकारीले भने।
त्यही बीचमा अवस्थीले आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा आफूलाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले अपहरण गरेको लेखेका छन्। जहाँ उनले आफ्नो जीवन रक्षाको लागि याचना समेत गरेका छन्।
अवस्थीले फेसबुकमा लेखेपछि उनका आफन्तले प्रहरी प्रशासन गुहारेका थिए। गृह मन्त्रालयसम्म कुरा पुगेपछि प्रहरी उनको खोजीमा लागेको थियो।
‘अपहरणमा परेका भनिएका पीडितलाई हामीले राति धेरै कुरा सोधिसकेका छैनौं,’ एसपी अधिकारीले भने, ‘आज उहाँको अवस्था सामान्य देखिए थप अनुसन्धान हुने छ।’
अवस्थीले आफूलाई अपहरण गर्नेहरू करिब ६ जनाको संख्यामा रहेको बताएका छन्।
‘उहाँले दुई जनाको नामै भन्नुभएको छ,’ एसपी अधिकारीले भने, ‘हामी उनीहरूको खोजीमा छौं र सँगै राखेर कुरा गरेपछि तथ्य खुल्ने छ।’