बाँकेमा शनिबार फेरि बाघले एक महिलाको ज्यान लिएको छ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ अब्रहवाकी ३२ वर्षीया चाँदनी थारुको पाटे बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले माघीको लागि पात टिप्न भनेर बाँके राष्ट्रिय नजिकैको सामुदायिक वनमा पात टिप्न गएकी थारुको बाघले आक्रमण गरी ज्यान लिएको सेतोपाटीलाई बताए।
‘६/७ जनाको संख्यामा महिलाहरू माघीको लागि पात टिप्न गएको समयमा केही बेरअघि थारुलाई झम्टिएर मारेको हो,’ एसपी अधिकारीले भने, ‘प्रहरी निरीक्षकसहित स्थानीयको टोलीले शव भेटाए पनि अझै शव जंगलमै छ।’
थारुलाई पात टिप्न गएको समूहकै बीचबाट झम्टिर बाघले लगेपछि अन्य मानिसहरू भागेर ज्यान जोगाउन सफल भएको एसपी अधिकारीले बताए।
घटनास्थलमा पाटे बाघको पाइलाहरू देखिएको पनि उनले जानकारी दिए।
दुई दिनअगाडि मात्रै बाघको आक्रमणबाट घाँस काट्न गएकी राप्ती सोनारी ४ की ५३ वर्षीया लिला विष्टको बाघको आक्रमणबाट ज्यान गएको थियो।
उनको शव बाघबाट छुटाउन प्रहरीले दुई राउन्ड हवाई फायर समेत गर्नुपरेको एसपी अधिकारीले सेतोपाटीलाई बताएका थिए।
त्यसपछि शुक्रबार मात्रै राप्ती सोनारी ५ का बलबहादुर पुन बाघको आक्रमणबाट जोगिएका थिए।
उनको एउटा बाख्रो बाघले झम्टिएर लगेको थियो।
त्यसभन्दा पहिले बुधबार मात्रै राप्ती सोनारी ६ बैजनाथकी ३० दुर्गा थारुलाई बाघले आक्रमण गरेको थियो।
पात टिप्न गएकी उनी भने बाघले आक्रमण गरेपछि भिडेर जोगिन सफल भएकी थिइन्।
उनले आफूसँगै रहेको हँसिया प्रहार गरी बाघलाई भगाउन सफल भएकी थिइन्। बाघको आक्रमणबाट उनको दुबै पाखुरामा बाघले चिथार्दा घाउ भएका थिए।
दाङ जिल्लासँग सीमाना जुधेको राप्ती सोनारीमा भदौयता मात्रै चार जना सर्वसाधारणको बाघको आक्रमणबाट ज्यान गएको छ।
बाघको आतंक बढेपछि सर्वसाधारण त्रसित छन्। स्थानीय मेलापात जान र रातिमा एक्लै शौचालय जान समेत डराउन थालेका छन्।
बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा पाटे बाघको झुण्ड नै रहेको यसअघि नै राष्ट्रिय निकुञ्जले जानकारी दिँदै आएको छ।
मान्छे खान पल्केको बाघलाई नियन्त्रणमा लिनका लागि पाडो राखे पनि बाघ भने त्यो खान नआएपछि नरभंक्षी बाघ नियन्त्रणमा लिने निकुञ्जको प्रयास विफल बनेको थियो।