ब्राजिलको मिनस ग्यारेस राज्यमा एउटा विशाल चट्टानको टुक्रा भत्किएर डुंगामाथि खस्दा १० जनाको मृत्यु हुनुका साथै २० जना बेपत्ता भएका छन्।
शनिबार भएको दुर्घटनामा परी ९ जना गम्भीर घाइते भएका छन्। दुर्घटनाका घाइतेको उपचार भइरहेको छ। पर्यटक सवार डुङ्गामाथि पहाड खसेको भिडिओ पछिल्लो समय भाइरल भइरहेको छ।
फर्नास लेकमा पर्यटकहरूले नौका सवारीको मजा लिइरहेको बेला चट्टानको एक भाग टुक्रिएर नौकाहरुमाथि खसेको भिडियोमा देख्न सकिन्छ। स्थानीय समयअनुसार यो दुर्घटना शनिबार बिहान करिब ११ बजे भएको हो।
मिनस ग्यारेस फायर डिपार्टमेन्टका कमाण्डर कर्नल एडगार्ड एस्तेभोले बेपत्ता व्यक्तिको खोजी भइरहेको बताएका छन्। उनले हालसम्म घटनास्थलमै ७ जना र थप ३ जनाको शव केही समयपछि पानीबाट निकालिएको जानकारी दिए। घटनामा परी ३० जना घाइते भएका छन्। घाइतेमध्ये ९ जना गम्भीर घाइतेको उपचार जारी रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
यसैबीच ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारोले दुर्घटनाको भिडियो शेयर गर्दै नौसेनाले खोज र उद्धार प्रयासका लागि एक राहत दल तैनाथ गरेको बताएका छन्।
हेर्नुहोस् भिडिओ