दाङमा एक सहकारी संस्थाको पाँच करोड बढी आर्थिक हिनामिना गरेको आरोपितमध्ये दुई जना कर्मचारीबाट दाङ जिल्ला अदालतले जनही ५०/५० लाख रुपैयाँ धरौटी माग गरेको छ।
अर्का एक जना व्यक्ति भने २५ लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन्।
सहकारीका पदाधिकारीमध्ये किरण भण्डारी र अर्का पदाधिकारी रुकमाङगत ज्ञवालीलाई जनही ५०/५० लाख धरौटी माग गरिएको छ।
उनीहरू दुबै जना अदालतले मागेको धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार चलान भएका छन्।
त्यस्तै, सहकारीका कोषाध्यक्ष रामकृष्ण पौडेल २५ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएको दाङ जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले सेतोपाटीलाई बताए।
भण्डारी साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष समेत हुन्।
केही वर्ष पहिले तीन वटा सहकारीलाई मर्जर गरी देउखुरी बचत तथा ऋण सहकारी संस्था बनाइएको छ।
राप्ती गाउँपालिका वडा नं. ८ स्थित सोही बचत तथा ऋण सहकारी संस्थाका शिवध्वज मल्ल समेतका सेयर सदस्यहरूले गत असारमै पाँच करोड, २७ लाख २६ हजार, ६ सय ९२ रुपैयाँ हिनामिना प्रकरणमा राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदी, किरण भण्डारी समेतलाई प्रतिवादी बनाई २० जनाविरूद्ध मुद्दा दिएका थिए।
ती प्रतिवादीमध्ये राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसँग अदालतले गत साउनमा साढे दुई लाख धरौटी माग गरेको थियो। उनले तोकिएको धरौटी बुझाएका थिए।
तर, भण्डारी, ज्ञवाली र पौडेल भने फरार रहँदै आएका थिए।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीहरू अन्तिममा अदालतमा उपस्थित भएका थिए।
अदालतले मुद्दाको पुर्पक्षका लागि उनीहरूसँग रकम हिनामिना प्रकरणमा नगद वा सो बराबरको जेथा जमानत माग गरेको हो।
जिल्ला अदालतका सूचना अधिकारी शर्माका अनुसार भण्डारीले र ज्ञवालीले तोकेको रकम बुझाउन नसकेपछि जिल्ला कारागार घोराहीमा पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो।
रकम हिनामिना प्रकरणमा २० प्रतिवादीमध्ये अन्य केही अझै फरार छन् भने केही पुर्पक्षका लागि थुनामा छन्।
सम्बन्धित समाचार :
सहकारीको रकम हिनामिनाको आरोप लागेका गाउँपालिका अध्यक्षसहित २० जनाको नाममा पक्राउ पुर्जी जारी
सहकारीको पाँच करोड हिनामिना प्रकरण: साढे दुई लाख धरौटी बुझाएर छुटे राप्ती गाउँपालिका अध्यक्ष