छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिब्र रूपमा बढिरहेको छ। पछिल्लो १६ दिनमै भारतमा ३९ गुणाले संक्रमित थपिएका छन्।
डिसेम्बर अन्तिममा दैनिक संक्रमण ६ हजार ३ सय ५८ रहेको भारतमा दुई सातामै ३९ गुणाले तिब्र रूपमा सक्रिमत थपिएका हुन्।
पछिल्लो २४ घन्टामा भारतमा करिब साढे २ लाख जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा यहाँ २ लाख ४७ हजार ४ सय १७ नयाँ संक्रमित थपिएको हुन्। अघिल्लो दिन १ लाख ९४ हजार ७ सय २० जनामा संक्रमण देखिएको छ।
पछिल्लो २४ घन्टामा भारतमा ३८० कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ।
राजधानी नयाँ दिल्लीमा पछिल्लो अप्रिल २० पछिकै सर्वाधिक संक्रमित फेला परेका छन्। दिल्लीमा पछिल्लो २४ घन्टामा २७ हजार ५ सय ६१ नयाँ संक्रमित फेला परेका छन्।
दिल्लीमा संक्रमित दर २६.११ प्रतिशत पुगेको छ। पछिल्लो २४ घन्टामा दिल्लीका मात्रै ४० जनाले ज्यान गुमाएका छन्। यो संख्या पछिल्लो जुन १० पछिको ठूलो हो।
यस्तै भारतको महाराष्ट्र राज्यमा सर्वाधिक संक्रमित फेला परेका छन्। पछिल्लो २४ घन्टामा महाराष्ट्रमा ४६ हजार ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
महाराष्ट्रको मुम्बईमा मात्र पछिल्लो २४ घन्टामा १६ हजार ४ सय २० जनामा कोरोना पुष्टि भएको छ। यहाँ अघिल्लो दिनको तुलनामा ४० प्रतिशत बढी संक्रमित भेटिएका हुन्।
भारतमा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ११ लाख नाघिसकेको छ।