भारतमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घन्टामा ४०२ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ पुगेको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणसमेत दैनिक बढिरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा ओमिक्रोन संक्रमित अघिल्लो दिनको तुलनामा ५.०१ प्रतिशत बढेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भारतमा हालसम्म ६ हजार ४१ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार देशभर सक्रिय संक्रमितको संख्या बढेर १४ लाख १७ हजार ८२० पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा भारतमा १ लाख २२ हजार ६ सय ८४ जना संक्रमणमुक्त भएका छन्।
भारतमा दैनिक संक्रमित दर बढेर १६.६६ प्रतिशत पुगेको छ। यस्तै साप्ताहिक संक्रमित दर बढेर १२.८४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।
यो सँगै भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुणाले बढेको छ। तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन।
कोभिड बढिरहेका बेला लाखौं हिन्दू भक्तजनहरु गंगा नदीमा सामूहिक स्नान गरेका छन्। मकर संक्रान्तिको अवसरमा लाखौंले सामूहिक स्नान गरेका हुन्। यसबाट थप संक्रमित हुने आशंका बढेको छ।
शनिबार पश्चिम वंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो । उनीहरुले संक्रमणको कुनै ख्याल नै गरेका थिएनन्। भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न सहरहरुमा रात्रिकालीन कर्फ्यू लगाइएका छन्।