ईश्वर निन्दाको आरोपमा ज्युँदै जलाइएका एक जना श्रीलंकन नागरिकको परिवारलाई पाकिस्तानबाट १ लाख अमेरिकी डलर सहयोग दिइएको छ।
गत मंसिरमा पाकिस्तानको पञ्जाव प्रान्तको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई आक्रोशित भीडले पहिला कुटपिट गरेको थियो भने पछि उनको शरिरमा आगो लगाएको थियो।
घटना हुनु अघिल्लो दिनदेखि नै उक्त फ्याक्ट्रीमा कुमाराले ईश्वरको निन्दा गरेको अफवाह फैलिएको थियो। सात वर्षदेखि उक्त फ्याक्टीमा काम गर्दै आएका कुमाराले तेहरिक लाब्बिक पाकिस्तान (टिएलपी) नामक संगठनको पोस्टर च्यातेको उनीहरूको भनाइ थियो। जुन पोस्टरमा कुरानको केही कुरा उल्लेख थियो।
कुमाराविरूद्ध सुरूमा फ्याक्ट्रीमा काम गर्नेहरू र आसपासका स्थानीयले फ्याक्ट्रीबाहिर प्रदर्शन गरेका थिए भने पछि आक्रोशित भीड भित्र पसेर उनीमाथि आक्रमण गरेको थियो।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार ट्विट गर्दै कुमाराका परिवारलाई सियालकोट बिजनेस कम्युनिटीले १ लाख डलर उपलब्ध गराएको जानकारी दिएका छन्।
खानले उक्त कदमको सराहाना गरेका छन्। उनका अनुसार कुमारा काम गर्ने राजको इन्डस्ट्रिजले पनि कुमाराका श्रीमतीका नाममा मासिक दुई हजार डलर तलबका रूपमा राखिदिने भएको छ। राजकोले १० वर्षसम्म यसरी तलब राखिदिने खानले उल्लेख गरेका छन्।