भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रूपमा बढिरहेको छ।
पछिल्लो २४ घन्टामा अघिल्लो दिनको तुलनामा १८ प्रतिशत बढी संक्रमित फेला परेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार भारतमा बुधबार २ लाख ८२ हजार ९ सय ८० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यसअघि मंगलबार यो संख्या २ लाख ३८ हजार थियो। यो अघिल्लो दिनको भन्दा १८ प्रतिशतले बढी हो।
यस्तै पोजिटिविटी दर १५.१३ प्रतिशत पुगेको छ। पछिल्लो १ दिनमा भारतमा ४४१ जनाले ज्यान गुमाएका छन्। यो सँगै भारतमा कुल ४ लाख ८७ हजार २ सय २ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ।
यस्तै भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित संख्या पनि बढेको छ।
भारतमा हालसम्म ८ हजार ९ सय ६१ जना ओमिक्रोनको संक्रमित फेला परेका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा संक्रमितमध्ये १ लाख ८८ हजार १ सय ५७ जना निको भएका छन्।
यो सँगै भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार पुगेको छ।
पछिल्लो २४ घन्टामा कर्नाटकमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्। त्यहाँ ४१ हजार ४५७ जना संक्रमित फेला पर्दा महराष्ट्रमा ३९ हजार २०७ र केरलामा २८ हजार बढी संक्रमित फेला परेका छन्।