दुई वर्षदेखि संसारभरि कोरोनाभाइरसको महामारी चलिरहेको छ। मानिसहरू सकभर संक्रमणबाट जोगिन विभिन्न स्वास्थ्य मापदण्ड पालना गरिरहेका छन्। संक्रमण भइहाले पनि सिकिस्त बिरामी नपरियोस् भनेर खोप लगाइरहेका छन्।
संक्रमणबाट जोगिने हरसम्भव उपाय अपनाएर खोप लगाउँदा पनि कतिले भने विभिन्न कारणले कोरोनासँगको लडाइँ हार्ने गरेका छन्। अहिले पनि दैनिक हजारौं संक्रमितले ज्यान गुमाइरहेका छन्। संसारभरि भइरहेको यो ट्रेन्ड सामान्य र स्वभाविक हो। युरोपेली मुलुक चेक रिपब्लिकमा भने कोरोनाकालको एउटा अनौठो घटना भएको छ।
बिबिसीका अनुसार चेककी एक जना लोक गायिकाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। र उनले जानीजानी आफूलाई कोरोना संक्रमण गराएकी थिइन्।
५७ वर्षीया हाना होर्काले कोरोनाविरूद्धको खोप लगाएकी थिइनन्। पछिल्लो समय संक्रमण फेरि फैलिन थालेको चेक रिपब्लिकमा सार्वजनिक स्थानहरूमा जान खोप लगाएको प्रमाण देखाउनु पर्छ नभए हालसालै संक्रमित भएको हुनु पर्छ। हानाले खोप लगाउनुको साटो संक्रमित हुने निर्णय गरेकी थिइन्।
हानाका छोरा जान रेकका अनुसार केही दिनअघि उनी र उनका बुवालाई कोरोना संक्रमण भएको थियो। बाबु-छोरा दुबैले खोप लगाएका थिए। श्रीमान र छोरा संक्रमित भएपछि हानाले आफूलाई उनीहरूको सम्पर्कबाट टाढा राख्न सक्थिन् तर उनले त्यसो गरिनन्।
‘कम्तीमा पनि एक सातासम्म उनी हामीबाट अलग हुनुपर्थ्यो। तर आमाले त्यसो गरिनन् जतिबेला पनि हामीसँगै बसिरहिन्,’ उनका छोराले बिबिसीसँग भनेका छन्।
संक्रमित भएकी हानाले सामाजिक सञ्जालमा आफूलाई निको भइरहेको लेखेकी थिइन्। तर गत आइतबार बिहान उनको मृत्यु भयो।
मृत्यु हुनु केही घन्टाअघिसम्म हानाले आफूलाई निको भइरहेको ठानेर हिँड्न जाने तयारी गरेकी थिइन्। अचानक उनलाई ब्याक पेन सुरू भयो।
‘१० मिनेटमा त आमाको मृत्यु भइहाल्यो,’ उनका छोराले भने।
खोप नलगाएको र हेलचक्र्याइँ गरेका कारण आफ्नी आमाले ज्यान गुमाएको उल्लेख गर्दै उनका छोराले आफ्नी आमाको घटनाबाट अरूलाई कोरोनाविरूद्ध खोप लगाउने प्रेरणा मिलोस् भनेर यो कुरा सार्वजनिक गरेको बताएका छन्।