सवारी ज्यान मुद्दामा चालको चरम लापरवाही भन्दै अदालतले दश लाख धरौटी माग गरेको छ।
घोराही उपमहानगरपालिका वडा नं. १३ का ४३ वर्षीय चालक नरबहादुर पुनले चरम लापरवाही गरेको ठहर गर्दै उच्च अदालत तुलसीपुरले पुनसँग दश लाख रूपैंया धरौटी माग गरेको अदालतका शाखा अधिकृत गोकर्ण वलीले सेतोपाटीलाई बताए।
गत भदौ १६ गते नेपालगन्जबाट तिजको किनमेल गरि घर फर्किदै गरेको समयमा घोराही ४ स्थित सिस्ने खोलामा आएको बाढीले प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा चार जनाको मृत्यु भएको थियो।
कारमा सवार घोराही १५ की ३३ वर्षीया राधा कुँवर, घोराही १३ की राधाकी दिदी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ४३ वर्षीया बिमला केसी र घोराही १३ की ४० वर्षीया रीतामाया पुनको मृत्यु भएको थियो। कार खोलाले बगाउँदा चालक पुन घाइते भएका थिए।
घटनापछि मृतकका आफन्तले चालक पुनका बिरूद्ध जिल्ला अदालतमा सवारी ज्यान मुद्दा दर्ता गराएका थिए। त्यसमा सुनुवाई गर्दै जिल्ला अदालतले कात्तिक ८ गते प्रतिवादी चालक पुनसँग पूर्पक्षका लागि एक लाख धरौटी माग गरेको थियो।
तर, त्यो रकम धेरै भएको भन्दै (चित्त नबुझाई) प्रतिवादी चालक पुन उच्च अदालत तुलसीपुरमा अपिलका लागि गएका थिए। त्यसमाथि सुनवाई गर्दै उच्च अदालत तुलसीपुरले चालक पुनको चरम लापरबाही भएको ठहर गर्दै दश लाख रूपैंया धरौटी तोकेको हो।
उच्च अदालतको फैसलामा मृतकको मृत्युको कारण विचार गरि समुचित धरौटी रकम निर्धारण गर्नुपर्नेमा तदनुरूप नगरी भएको जिल्लाको आदेश सो धरौटी रकमको हदसम्म मिलेको नदेखिएकाले बदर गरेको उल्लेख छ।
अदालतले तोकेको दश लाख नगद धरौटी वा सो बराबरको जमानत बुझाउन नसकेपछि चालक पुनलाई पुर्पक्षका लागि थुनामा पठाइएको अदालतका शाखा अधिकृत गोकर्ण वलीले सेतोपाटीलाई जानकारी दिए।
उक्त सवारी ज्यान मुद्दामा निवेदक वादी नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिलको कार्यालय तुलसीपुरका निमित्त सहन्यायाधिवक्ता राजेश्वर अर्याल, जाहेरीवालाको तर्फबाट अधिवक्ता मोहनप्रसाद धिताल, विपक्षी प्रतिवादीको तर्फबाट बरिष्ठ अधिवक्ता प्रदीपकुमार धिताल र अधिवक्ता प्रदीपकुमार गौतमले बहस गरेका थिए।
मुद्दा फाँटका प्रहरीबाटै बदमासी
दुर्घटनापछि मुचुल्का प्रतिवेदन तयार पार्दा प्रहरीबाटै बदमासी भएको छ। ‘गाडी बिचमा पुगेपछि एकाएक बाढी आएको भन्ने शब्द प्रहरीको मुचुल्कामा छ,’ एक अधिवक्ताले सेतोपाटीसँग भने, ‘त्यो प्रहरीले गरेको बदमासी थियो।’
जानजान मिलेमतोमा फितलो प्रतिवेदन बनाएर दोषी उम्काउन मुद्दा फाँटकै प्रहरी अधिकारीले बदमासी गरेको थाहा पाएपछि जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले ती प्रहरी अधिकारीलाई अन्यत्र सरूवा गरेका थिए।
ती प्रहरी अधिकारीलाई कारबाही स्वरूप सरूवा गरेपछि आएका मुद्दा फाँटमा प्रहरी अधिकारीले तथ्य कुराको रिपोर्टसहित मुचुल्काको प्रतिवेदन अदालतमा पेश गरेका थिए।
‘खोलामा ठूलो बाढी पहिलैदेखि आइरहेको भन्ने कुराको पुष्टी खोलाको पूर्व पट्टि रोकिएका टिपर एथेष्ट प्रमाण थियो,’ ती अधिकारीले भने, ‘तर, मुद्दा फाँटका प्रहरीको मिलेमतोमा फितलो प्रतिवेदन पठाउनु अपराध थियो।’
खोलामा बाढी आएको देखेर रोकिराखेको टिपर चालकलेसमेत स्कार्पियो चालक पुनलाई बाढी ठूलो भएको भन्दै गाडी नहाल्न सचेत गराएका थिए। जानीजानी भेलमा असावधानीपूर्वक गाडी हालेको मृतकका आफन्तको वयान र प्रमाणबाट खुलेको ती अधिवक्ताले भने।
घटनास्थल नजिकै घोराही बजार आउन बैकल्पिक बाटोसमेत थियो। चालक पुनले सावधानीका लागि त्यो बाटो जान छोडेर टिपरसमेत रोकिराखेको भेलमा गाडी हाल्ने काम गरेको ती अधिवक्ताले तर्क गरे ।
‘चालककै लापरबाहीले गर्दा चार जनाको मृत्यु भएको देखियो,’ ती अधिवक्ताले भने, ‘चालकले परिस्थिति आँकलन गर्न नसक्नु ठूलो कमजोरी देखिन्छ।’