भारतको बिहारमा आन्दोलनमा रहेका विद्यार्थीले रेल जलाएका छन्।
बिबिसी हिन्दीका अनुसार रेलवे भर्ती बोर्डले गरेको परीक्षाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले बुधबार रेल जलाएका हुन्।
हजारौं संख्यामा विद्यार्थीहरूले तीन दिन देखि आन्दोलन गर्दै आएका छन्। बुधबार पनि विद्यार्थी र प्रहरीहरूबीच भीडन्त भएको थियो।
आक्रोशित विद्यार्थीहरूले पटना तथा अराहका सडक, रेलवे ट्र्याकहरू बन्द गरेका थिए। उनीहरूले गाया रेलवेमा गुड्दै गरेको रेलमा ढुंगामुढा गरेका थिए। अराह जिल्लामै उनीहरूले यात्रुबाहक रेल जलाएका हुन्।
प्रहरीले पनि विद्यार्थीहरूमाथि लाठी चार्ज गरेका थिए भने भीडलाई तितरबितर पार्न हवाई फायर समेत गरेको थियो।
प्रहरीले झन्डै आधा दर्जन प्रदर्शनकारी विद्यार्थीहरूलाई नियन्त्रणमा पनि लिएको छ।
रेलवे बोर्डले ३५ हजार पदको लागि दुई चरणमा परीक्षा लिन लागेको थियो। तर पहिलो चरणको परीक्षा पास गरिसकेका विद्यार्थीले दोस्रो चरणको पनि परीक्षा दिन लगाएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
विद्यार्थीको आन्दोलनपछि सरकारले दुई चरणकै परीक्षा स्थगित गरेको छ। सरकारले छानविन गर्न समिति समेत गठन गरेको छ।
पहिलो चरणको नतिजा जनवरी १५ मा प्रकाशित भएको थियो। त्यसमा झण्डै एक करोड २५ लाखले परीक्षाको लागि आवेदन दिएका थिए। रेलवेले लेभल दुई देखि लेभल ६ सम्मको लागि जम्मा ३५ हजार पोष्टको लागि विज्ञापन दिएको थियो।
त्यसको तलब जम्मा १९ हजार ९०० भारू देखि ३५ हजार ४०० भारू सम्म हुने तोकिएको थियो।
पहिलो चरणको परीक्षामा जम्मा ६० लाख सहभागी भएका थिए।
प्रदर्शनमा रहेका विद्यार्थीहरूले सन् २०१९मा जारी गरेको सूचनामा एउटामात्रै परीक्षाबारे उल्लेख गरिएको बताएका छन्। उनीहरूले आफ्नो भविष्यसँग खेलेको आरोप लगाएका छन्।
यता रेलवे मन्त्रालयले भने उक्त सूचनामा दोस्रो परीक्षाबारे उल्लेख गरिएको दाबी गरेको छ।
तस्बिरहरू: