तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डीस्थित गाई संरक्षण केन्द्रका १४ गाई एकै दिन मरेका छन्।
शुक्रबार १४ र शनिबार थप एउटा गरी दुई दिनमा १५ वटा गाई मरेका छन्।
योगी आदित्यनाथ फाउन्डेसन केन्द्रका गाईहरू धमाधम मरेपछि जिल्लास्थित सरकारी अधिकारीहरूले चासो व्यक्त गरेका छन्।
केन्द्रका अध्यक्ष अनिल बिष्टले आइतबार पशु सेवा कार्यालय घोराही र तुलसीपुरका पशु प्राविधिक आएर मरेका गाईको पोष्टमार्टम गरिरहेको जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहितका अधिकारीहरू गाई मरेको खबरपछि स्थलगत अनुगमनमा गएका छन्।
‘चिसो र खान नपाएर गाईहरू मरेको भन्ने सुनेको छु,’ रेग्मीले भने, ‘अहिले मरेका गाईको पोष्टमार्टम भइरहेको छ।’
अध्यक्ष बिष्टले दुई दिनसम्म परेको असिना पानीका कारण गाईहरू मरेको हुनसक्ने बताए।
‘दुई दिनमा १५ गाई मरेका हुन्,’ उनले भने, ‘हिउँदमा भएको वर्षाले गाई मरे। यो प्रकृतिले पनि गर्नु गर्यो!’
एक स्थानीयले भने गाई संरक्षण केन्द्रले जथाभावी रूपमा गाई हुलेर राख्ने र खान पनि नदिने गरेको गुनासो गरे।
‘एकैदिन दर्जन बढी गाई मर्नुले नाम मात्रैको संरक्षण केन्द्र हो भन्ने प्रष्ट हुन्छ,’ उनले भने।
राम्रो उद्देश्यले संरक्षण केन्द्रको थालनी गरिएको भए पनि त्यो अनुरूपको संरक्षण नभएको उनको भनाइ छ।
केन्द्र सञ्चालन गरेको केही समयमात्रै भएको र आफूहरूसँग अनुभव नभएकाले पनि यो अवस्था आएको हुनसक्ने केन्द्रका अध्यक्ष विष्टले बताए।
छाडा-चौपायाको संरक्षण गर्ने उद्देश्यले यो गाई संरक्षण केन्द्र गत भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन उद्घाटन गरिएको थियो।
नेपाल संस्कृत विश्वविद्यालयको ४५ बिगाहा जग्गा वार्षिक ९ लाख ६३ हजार दिने सर्तमा तीन वर्षका लागि भाडामा लिइएको हो।अध्यक्ष बिष्टका अनुसार त्यसमा वार्षिक दस प्रतिशत वृद्धिको सर्त छ।
त्यही खुला चउरमा ४० मिटर लम्बाई र २४ मिटर चौडाइको ट्रष्ट निर्माण गरिएको छ। वरिपरि खुल्ला ठाउँमा माथिबाट जस्ता पाता लगाइएको छ।
अध्यक्ष बिष्ट उक्त ट्रष्टमा दुई सय जति गाई मात्रै अट्न सक्ने क्षमता रहेको बताउँछन्। तर त्यहाँ अहिले साढे तीन सय गाई राखिएका छन्।
‘हाम्रोमा क्षमताभन्दा धेरै गाई भए,’ बिष्टले भने, ‘ठाउँ अभाव भए पनि कच्याककुचुक्क पारी राखिएको छ।’
ठाउँ-ठाउँबाट गाई-गोरु धपाउँदै केन्द्रमा ल्याउन थालेपछि क्षमताभन्दा बढी गाई राख्न बाध्यकारी अवस्था आएको उनले बताए।
‘हाम्रो अप्ठेरो कसैले बुझ्दैन र गाई-गोरू खेदेर ल्याउँछन्,’ उनले भने, ‘धेरे गाई-गोरू हुँदा घाँस परालदेखि ट्रष्टको समेत अभाव भएको छ।’
उनका अनुसार संरक्षण केन्द्रका गाई-गोरू हेर्ने दुई जना हेरालुलाई जनही मासिक साढे १३ हजारका दरले र एक जना गोबर फाल्ने व्यक्तिलाई मासिक सात हजार तलब दिने गरेको छ।
संरक्षण केन्द्रमा यतिखेर गाई-गोरूले खाने घाँस परालको पनि अभाव छ।
गत वर्ष प्रतिट्याक्टर एक हजार पाँच सय पर्ने पराल यो वर्ष तीन हजार रुपैयाँ पुगेको तथा सिस्तैमा पाइने र आगो लगाएर जलाउने तोरीको भुससमेत किन्नु पर्ने अवस्था रहेको बिष्टले बताए।
यसअघिसम्म दाङ देउखुरीकै टिकुलीगढबाट साइलेज (प्याकिङ घाँस) किनेर ल्याइन्थ्यो। तर त्यहाँ पनि अभाव भएको हुँदा अब छिट्टै चितवनबाट ल्याउने तयारी भइरहेको उनले बताए।
त्यो साइलेज घाँस विशेष गरी बुढा पाका र पराल चपाउन नसक्ने गाई गोरूलाई दिने गरिन्छ।
‘सहर बजारका छाडा चौपाया संरक्षण गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘एक किसिमले भन्नुपर्दा यो गाई-गोरू संरक्षण गर्ने वृद्धाआश्रम जस्तै हो ।’
दुर्घटना हुनबाट जोगियोस्, घाइते अपाङ्ग भएका गाई-गोरूले पीडा भोग्नु नपरोस भनेर संरक्षण केन्द्र सञ्चालन गरेको उनले बताए।
गाई संरक्षण केन्द्रलाई तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाले जनही पाँच-पाँच लाख गरी दश लाख आर्थिक सहायता गरेको छ।
‘हालसम्म तुलसीपुर र घोराहीबाट मात्रै आर्थिक सहायता प्राप्त भएको छ,’ अध्यक्ष विष्टले भने ‘हामीले तुलसीपुर र घोराहीका सबै वडाहरूलाई समेत आग्रह गरेका छौं। भविष्यमा थप सहयोग मिल्छ कि भन्ने आशा छ।’