ऐतिहासिक सम्पदाले भरिपूर्ण पनौतीमा बाह्रवर्षे मकर मेलाको रौनक छ। यही मौकामा तिर्थारूहरूलाई लक्ष्य गरेर पनौतीका स्थानीय कलाकार जयराम मानन्धरले लायकू (दरबार) क्षेत्रमा छ्वाली कला प्रदर्शन गरिरहेका छन्।
पनौतीको त्रिवेणीघाटमा नुहाउँदा शरीर र मनका रोग नाश हुन्छन् भन्ने विश्वासले मेला भर्न आउनेहरू जयरामका कलाकृतिमा आँखा टाँसेर आनन्दित हुन्छन्।
जयरामले आफ्नो छ्वाली कलाबाटै नाम र दाम कमाए। पनौतीमा घडेरी पनि जोडे। बजारनजिकै फाँटमा खेत किनेका छन्। त्यो घडेरीमा चाँडै नै कलात्मक घर बनाउँदैछन्।
'सबभन्दा ठूलो कुरा छोरीहरू हुर्किए,' ४२ वर्षीय जयराम भन्छन्, 'पैसाभन्दा नाम कमाएँ।'
उनका दुई छोरीहरू याश्ना र विश्व छन्। कलाकर्ममा श्रीमती रेणुको पनि ठूलो सहयोग छ।
जयरामले बनाउने छ्वाली कलाका ग्राहक धेरैजसो नेपाली नै हुन्। घर तथा होटलमा सजाउन र इष्टमित्रलाई उपहार दिन यस्ता कलाकृतिको प्रयोग हुन्छ। 'मायाको चिनो दिन ५ हजार मूल्यसम्मका चित्रको माग बढी हुन्छ,' जयराम भन्छन्, 'काठमाडौं, पाटनदेखिका सहकारी संस्थाबाट पनि अर्डर आउँछ।'
उनी बिहान ७ बजेदेखि साँझ अबेरसम्म 'बिजेएस ह्यान्डिक्राफ्ट एन्ड सोभिनियर हाउस' मा काम गर्छन्।
तीन दाजुभाइ विजयराम, जयराम र श्रीरामको नामका सुरूको अक्षर मिलाएर उनले आफ्नो कम्पनीको नाम जुराएका हुन्। उनले ५० रूपैयाँदेखि चार लाखसम्मका कलाकृति बनाएका छन्। सबभन्दा सस्तो ५० रूपैयाँमा पोस्टकार्ड बेच्छन्।
छ्वाली कला सजिलो छैन। गहुँको सुकेको बोटलाई छ्वाली भनिन्छ। त्यसलाई सफा गरेर चकलेटको बट्टाको बिर्कोले घोटिन्छ।
'जति घोट्यो उति चम्किन्छ,' जयरामले भने, 'त्यसलाई चित्रअनुसार नेपाली कागजमा टाँसिन्छ।'
प्राकृतिक रूपमा सेतो र सुनौलो दुई रंगमा छ्वाली पाइन्छ। आवश्यकताअनुसार कहिलेकाहीँ अन्य रङ पनि प्रयोग गरिन्छ।
पहिला पहिला कपडामा टाँसेर चित्र बनाइन्थ्यो। अचेल नेपाली कागजमा फेविकोलले छ्वालीलाई टाँसिन्छ।
कत्तिको टिकाउ हुन्छन् त यस्ता चित्र?
'मैले नेपाल भ्रमण वर्ष १९९८ मा बनाएको त्रिवेणीघाटको चित्र आज पनि दुरूस्तै छ,' जयराम भन्छन्, 'घामपानीबाट जोगायो भने पचासौं वर्ष टिक्छ।'
जयराम छ्वालीकलामा रमाउन थालेको सन् १९९८ देखि हो।
उनी पनौती बजारकै पुण्य माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्थे। तिनताका गाउँघरका विद्यालयको एसएलसी परीक्षा केन्द्र पनौतीमा पर्थ्यो। त्यसैले गाउँका विद्यार्थी सहरका डेरामा ८–१० दिन बसेर परीक्षा दिन्थे। र, गाउँ फर्किन्थे।
उनको घरमा पनि दाप्चातिरका दुई जना विद्यार्थी बसेका थिए। एसएलसी सकिएपछि ती डेरा भाडा नतिरी गाउँ फर्केछन्।
केही महिनापछि जयरामको परिवारले कोठाको ताल्चा फोड्यो। त्यहाँ एउटा चित्र भेटियो– गोरखा दरबारको।
छ्वाली टाँसेर बनाइएको त्यो चित्रले जयरामको मथिंगल घुमायो। उनले त्यसकै सिको गरे र छ्वाली टाँसेर बल्लबल्ल मनकामना मन्दिर बनाए।
'त्यो चित्र २५० रूपैयाँमा बेचेँ,' जयरामले सम्झिए, 'अहो कमाइ हुँदो रहेछ भन्ने लाग्यो। अर्को चित्र गुलाबको फूल बनाएँ, त्यसको पनि डेढ सय रूपैयाँ पाएँ।'
उनले नेपाल भ्रमण वर्ष–१९९८ मा बनाएको त्रिवेणीघाटको चित्र पाँच सय पचास रूपैयाँमा बेचे। त्यति बेलै काठमाडौंका किरण सायमिले एकैपटक ६ वटा चित्र किनिदिए।
अनि त उनको हौसलाले शिखर चुम्यो।
यसरी जयरामको व्यावसायिक कलायात्रा त सुरू भयो तर कला बजार ठूलो थिएन। आक्कलझुक्कल आउने चित्रको कमाइले पुग्दैनथ्यो।
यसबीच उनले विवाह गरे। त्यति बेला उनी फिल्म डिस्ट्रिब्युसनको काम गर्थे। जागिरको धपेडीले कला सिर्जनामा समय दिन भ्याएनन्।
'बिहेपछि जागिरले नधान्ने भयो। आफैं केही गर्नुपर्छ भन्ने लाग्यो,' जयरामले आफ्नै सीप तिर्खाने योजना बनाए, 'अनि छ्वाली कलातिरै फर्किएँ।'
आज उनी आफ्नो कामबाट सन्तुष्ट छन्। उनले ललितकला प्रज्ञा प्रतिष्ठान, घरेलु कार्यालय लगायत संघसंस्थाबाट थुप्रै राष्ट्रियस्तरका पुरस्कार पाइसके।
उनमा समाजप्रति दायित्वबोध छ। धेरैलाई निःशुल्क छ्वाली कला सिकाएका छन्। केही त राम्रा कलाकारका रूपमा चम्किइसके।
'कमाइ हुने देखेर सिक्न खोज्छन् तर धेरैले निरन्तरता दिन सक्दैनन्,' जयरामको अनुभवले भन्छ, 'दिनभर एकैठाउँ बसेर काम गर्नुपर्छ। धैर्य नहुनेहरू यसमा टिक्दैनन्।'
जयराम व्यक्तिगत रूपमा सन्तोकी छन्। सरकारसँग भने एउटा गुनासो छ।
'नेपालमा सयौं कलाकार छन्। तर सरकार बर्सेनि करोडौं मूल्यका उपहार विदेशबाट खरिद गर्छ,' जयराम सुझाउँछन्, 'नेपाल सरकारले विदेशबाट किन्नुको साटो नेपाली कलाकारसँग किनेमा हामीलाई ठूलो प्रोत्साहन मिल्थ्यो।'
उनले पनौतीमा तीनपटक र काठमाडौंमा एकपटक एकल प्रदर्शनी गर्न भ्याइसके। अब युरोप/अमेरिकातिर प्रदर्शनी गर्ने उनको सपना छ।
'बाँचुन्जेल कलाकारितामै रम्छु', जयराम भन्छन्, 'चान्स पाए विदेशमा नेपालीपन झल्काउने चित्रहरूको एकल प्रदर्शनी गर्नेछु।'
उनले जीवनमा अनेकौं चित्र बनाए। तिनमा लायकूको प्रदर्शनीमा राखिएका ६० चित्रमध्ये १३ वटाको विषयमा यहाँ चर्चा गरिएको छ।
नेपालको नक्सा
आफ्नो मातृभूमि सबैलाई प्रिय लाग्छ। संघसंस्थाहरूले 'टोकन अफ लभ' दिन नेपालको नक्सा अंकित चित्र खोज्छन्। त्यसैले जयरामले यस्ता धेरै चित्र बनाइसके।
गणतन्त्र नेपाल सात प्रदेशमा बाँडिएको छ। त्यही कुरा उनको चित्रमा झल्काइएको छ। दुई दिन लगाएर बनाइएको यो चित्रको मूल्य ३५ सय रूपैयाँ पर्छ।
पशुपतिनाथ
हिन्दुमार्गीका आराध्यदेव हुन्, पशुपतिनाथ। बागमती किनारमा बसेका पशुपतिनाथ पर्यटकीय आकर्षण पनि हुन्।
चित्रमा जयरामले मूल मन्दिर क्षेत्र झल्काएका छन्। काठमाडौंका एक व्यवसायीले पहिलो लकडाउनअघि ५० हजार रूपैयाँ बैना दिएर पशुपतिनाथको चित्र अर्डर गरेका थिए। लकडाउनपछि उनी सम्पर्कविहीन छन्।
महिना दिन लगाएर बनाइएको यो चित्रको मूल्य १ लाख ५० हजार रूपैयाँ हो।
पनौती
माघ महिनाभर चल्ने मकर मेलामा प्रदर्शन गर्नकै लागि भनेर उनले पनौतीको लायकू क्षेत्र झल्काउने चित्र बनाएका छन्।
जन्मथलोको चित्र बनाउँदा आत्मगौरवको अनुभूति भयो उनलाई। पहिला पनि यस्तै चित्र बनाएका थिए, बिक्री भयो। त्यसैले मेलाका लागि नयाँ बनाएका हुन्।
पच्चीस दिन लगाएर बनाइएको चित्रको मूल्य १ लाख ३० हजार रूपैयाँ राखेका छन्।
स्वयम्भूनाथ
बौद्धमार्गीको महान तीर्थ हो काठमाडौंको स्वयम्भूनाथ। अग्लो डाँडामा विराजमान स्वयम्भूनाथले काठमाडौं उपत्यकाको संरक्षण गरिरहेझैं अनुभूति हुन्छ।
जयरामलाई पशुपतिनाथ र स्वयम्भूनाथका चित्रको माग धेरै आउँछ। महिना दिन लगाएर बनाइएको चित्रको मूल्य १ लाख ५० हजार रूपैयाँ राखेका छन्।
यसमा चित्रको फ्रेममै ४८ हजार रूपैयाँ परेको जयराम सुनाउँछन्।
मयूर झ्याल
पाँचमुखे आँखीझ्याल (सँझ्या) को बीचमा मयुर बनाइएको छ। यो चित्र उनले चार महिनाको मिहिनेत लगाएर बनाएका हुन्।
उनले घरमा फ्रिज किनेर ल्याएका थिए। त्यो सँगै (सेतो फोम) थर्मोकोट आएको थियो। त्यसैलाई काटकुट पारेर झ्यालको रूप दिए। र, त्यसमा छ्वाली टाँसे।
यसको मूल्य ३ लाख ७५ हजार रूपैयाँ हो।
धुलिखेल
आन्तरिक पर्यटकमाझ रोमान्टिक विकेन्ड डेस्टिनेसनका रूपमा चर्चित धुलिखेल प्रकृति, संस्कृति र इतिहासको त्रिवेणी हो।
पनौतीसँग जोडिएको धुलिखेल बजारको पुरानो नेवार बस्तीलाई उनले कलामा उतारेका हुन्। एउटा किताबमा विदेशीले खिचेको तस्बिर देखेपछि त्यसैलाई हेरेर उनले चित्र बनाए।
मकर मेलाका लागि भनेर २५ दिनमा बनाइएको चित्रको मूल्य १ लाख ३० हजार रूपैयाँ राखेका छन्।
भक्तपुर
सांस्कृतिक सहर भक्तपुरको ऐतिहासिक गाथा गौरवपूर्ण छ। उनको चित्रमा दरबार क्षेत्र, पचपन्न झ्याले दरबार, गोल्डेन गेट र राजा भूपतिन्द्र मल्लको सालिक झल्काइएको छ।
यत्तिको चित्र बनाउन पहिला पहिला धेरै दिन लाग्थ्यो, अचेल १५ दिनमै तयार पार्छन्।
यसको मूल्य ४० हजार रूपैयाँ राखेका छन्।
स्ट्याचू अफ लिबर्टी
स्ट्याच्यू अफ लिबर्टी अमेरिकाको न्यूयोर्कस्थित सालिक हो। यसमा देवीको दाहिने हातमा मसाल छ भने देब्रेमा पुस्तक।
उनले १२ वर्षअघि यो मूर्ति बनाएका हुन्। चिल्ड्रेन्स होम चलाउने एउटी दिदीले दिएको किताबमा तस्बिर देखेपछि त्यसलाई हेर्दै मूर्ति बनाएका थिए।
मेला महोत्सवमा यो मूर्तिसँग धेरैले सेल्फी खिच्छन्। नौ महिना लगाएर बनाइएको मूर्तिको मूल्य ४ लाख रूपैयाँ राखेका छन्।
ताजमहल
हरेक मान्छे प्रेमिल हुन्छ। भारतको आगरा सहरमा बनाइएको ताजमहललाई प्रेमको प्रतीक मानिन्छ। मुगल सम्राट शाहजहाँले आफ्नी रानी मुमताजको सम्झनामा ताजमहल बनाएका हुन्।
उनले यो चित्र बनाएको अढाई वर्ष भयो। त्यसभन्दा पहिला स-साना आकारमा बनाउँथे। १५ दिनमा बनाइएको यो चित्रको मूल्य ४० हजार रूपैयाँ राेखका छन्।
ज्ञानेन्द्र शाह
राजनीतिक हिसाबले कलाकार जयराम प्रजातन्त्रवादी हुन्। एउटा राजालाई फ्याँकेर मुलुकमा गणतन्त्र स्थापना गरेसँगै धेरै राजा जन्मेकामा उनको चित्त बुझेको छैन।
मकर मेलामा पूर्वराजा ज्ञानेन्द्र शाह आउलान् र उपहार उनैलाई दिउँला भनेर उनले यो चित्र बनाएका थिए। बिक्री भइहाले पूर्वराजालाई अर्को बनाएर दिने योजना छ।
सात दिनमा बनाइएको यो चित्रको मूल्य ९ हजार रूपैयाँ राखेका छन्।
केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई छ्वाली कला प्रोत्साहन गर्ने नेताका रूपमा उनी सम्मान गर्छन्। विगतमा ओलीले पटकपटक आफ्नै निवासमा बोलाएर कलाकृति किनेको अनुभव छ उनीसँग।
विशेषतः इष्टमित्रलाई उपहार दिन दरबार क्षेत्र र महिलाले घैला बोकेका चित्र ओलीले किन्ने गरेको उनी सुनाउँछन्।
तिनै ओलीलाई उपहार दिन भनेर उनले यो चित्र बनाएका हुन्। प्रदर्शनीमा बिक्री भइहाले अर्को बनाएर दिने योजना छ।
सात दिनमा बनाइएको यो चित्रको मूल्य ९ हजार रूपैयाँ राखेका छन्।
जो बाइडेन
अमेरिकाका राष्ट्रपति जो बाइडेनसहित संसारका शक्तिशाली २५ देशका राष्ट्रपति/प्रधानमन्त्रीका चित्र बनाएर मकर मेलामा प्रदर्शन गर्ने उनको योजना थियो। तर भ्याएनन्।
उनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट चित्र बनाउन सुरू गरेका थिए। बाँकी चित्र पछि बनाउने छन्।
सात दिनमा बनाइएको यो चित्रको मूल्य ९ हजार रूपैयाँ राखेका छन्।
गणेश
हिन्दु मान्यताअनुसार घर तथा मठमन्दिरमा सबभन्दा पहिला गणेशको दर्शन गरिन्छ। तिनै लम्बोदर गणेशको चित्र बनाएका हुन् उनले।
यसमा गणेशको एउटा हातमा बन्चरो, अर्कोमा कमल र अर्कोमा ओम् लेखिएको छ। कोभिड–१९ का कारण मुलुकमा पहिलो लकडाउन भएपछि उनले एक साता लगाएर बनाएको यो चित्रको मूल्य ३२ हजार रूपैयाँ राखेका छन्।
सम्पर्कः जयराम मानन्धर–९८४१४५६१५६,पनौती