पाकिस्तानमा इस्लाम धार्मिक ग्रन्थ कुरानको अपमान गरेको भन्दै एक जनाको निर्मम हत्या गरिएको छ।
डन समाचार पत्रका अनुसार पाकिस्तानको पन्जाब प्रान्तको खानेवाल जिल्लाको विकट गाउँमा शनिबार एक पुरूषको हत्या भएको हो।
समाचारमा उल्लेख भएअनुसार ती पुरूषले सुरूमा कुरानका केही पाना च्यातेको र पछि तिनलाई जलाएको आरोपमा स्थानीयले उनलाई रूखमा बाँधेर ढुंगाले हानी-हानी मारेका हुन्।
प्रत्यक्षदर्शीका अनुसार आरोपीलाई गाउँलेहरूले मार्नुभन्दा पहिला प्रहरी टोली पुगेको थियो तर गाउँलेले उनलाई प्रहरीबाट थुतेर लगेका थिए।
पन्जाबका मुख्यमन्त्री उस्मान बज्दारले घटनाबारे प्रहरी उच्च अधिकारीसँग रिपोर्ट मागेका छन्।
पाकिस्तानमा ईशनिन्दा र कुरानको अपमान गरेको आरोपमा मानिसको हत्या हुने घटना भइरहन्छन्।
गत डिसेम्बरमा पन्जाबकै सियालकोटमा एक जना श्रीलंकन इन्जिनियरको हत्या गरिएको थियो। उनी काम गर्ने फ्याक्ट्रीका मानिसहरूले नै उनीमाथि ईशनिन्दाको आरोप लगाएका थिए।