दाङमा आफूलाई शिव भगवानको भक्त बताउने एक जना धामी जबर्जस्ती करणी गरेको उजुरीपछि पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का ३५ वर्षीय गोपाल विक तुलसीपुर-१८ खैरेनी टोलकी 'माता' र उनकी भान्जी १४ वर्षीया नाबालिकाको जोहरीपछि विक पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार माघ २९ गते बेलुका धामी झाँक्री बस्न भनेर गएका विकले पहिला ती महिला र पछि उनकी भान्जीलाई जबरजस्ती करणी गरेको भन्दै फागुन ५ गते प्रहरीमा जाहेरी दिएका थिए।
‘म शिवको भक्त हुँ र मलाई देवी देवताले आफूलाई छोएको भन्दै सर्वसाधारणलाई भ्रममा पारी स्थानीयस्तरमा धामी झाँक्रीको काम गर्ने बहानामा पुगेका विकले सुरूमा महिलालाई त्रिशूलले प्रहार गर्नुका साथै उनको कपाल समेत काटेको देखिन्छ,’ डिएसपी अर्यालले भने, ‘त्यसपछि ती महिलाका स-साना छोरा-छोरी कोठा बाहिर निस्किएपछि धामी–झाँक्री बस्न गएका विकले बलात्कार गरेको भन्ने खुलेको छ।’
पहिला महिलालाई जबरजस्ती करणी गरेपछि उनै विकले १४ वर्षीया भान्जीसँग पानी मागेको र पानी लिन बालिकाभित्र प्रवेश गरेको समयसँगै भित्र प्रवेश गरी ती बालिकालाई पनि जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख रहेको डिएसपी अर्यालले सेतोपाटीलाई बताए।
‘धामी–झाँक्रीको भेषमा पुगेका विकको नियत खराब देखिएको छ,’ डिएसपी अर्यालले भने,‘त्रसिद र आतंकित तुल्याएर एकपछि अर्कोलाई जबर्जस्ती करणी गरेको खुलेको छ।’
पीडितको जाहेरीको आधारमा खोजी गर्दै गएको प्रहरी आरोपित विकलाई फागुन ५ गते नै तुलसीपुर १९ दुधरास भन्ने ठाउँमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिए।
पक्राउ परेका विकविरूद्ध जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।