दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी नयाँ वर्षदेखि नर्सिङ कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।
प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले यही आर्थिक वर्षदेखि प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरू गरिने जानकारी दिए।
बिएसी नर्सिङ, बिएडएस र बिफाल गरी तीन वटा कोर्षका लागि प्रतिष्ठानले चिकित्सा सेवा आयोगमा निवेदन दिइसकेको बताएको छ।
ती कक्षा सञ्चालन गर्न आवश्यक जनशक्तिको समेत भर्ति गरिसकेको थापाले बताए।
नर्सिङ पर्ने विद्यार्थीका लागि आवश्यक बस तथा सवारी साधनको खरिद प्रक्रियाको लागि प्रतिष्ठानले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ।
शैक्षिक गतिविधि सञ्चालन गर्न आवश्यक लाइब्रेरी, कक्षा कोठा, अडोटोरियल रूमहरू लगभग तयारी अवस्थामा रहेको रजिष्टार थापाले जानकारी दिए। त्यस्तै, छात्राबासको लागि प्रतिष्ठान आसपासका दुई/तीन वटा घर हेरिसकिएको थापाले बताए।
हेरेका घरमध्ये एउटा घर छनोट गरी सूचना प्रकाशित गर्ने र त्यसैलाई छात्राबासको रूपमा प्रयोग गर्ने उद्धेश्य प्रतिष्ठानको छ।
‘कम्तीमा हामी आगामी असारदेखि ब्याचलर लेबलको पढाइ सुरू गर्नेछौं,’ थापाले भने, ‘जसका लागि चाहिने सम्पूर्ण तयारी हामीले गरिरहेका छौं।’
चिकित्सा सेवा आयोगबाट केही दिनभित्रै प्रतिष्ठानको स्थलगत अवलोकनमा आउन लागेको छ।
‘फागुनको १५ गतेभित्रै आयोगबाट भिजिट गर्न आउने हामीलाई सूचना दिइएको छ,’ थापाले भने, ‘त्यसको लगत्तै आयोगबाट स्वीकृति पाए हामी नर्सिंङ काउन्सिलले निर्माण गरेको भौतिक पूर्वाधारमा हामी ब्याचलर तहको तीन वटा कोर्ष पढाइको प्रक्रिया थालनी गर्नेछौं।’
साबिक राप्ती उपक्षेत्रीय अस्पतालको नाममा रहेको करिब ५ बिगाहा जग्गा छ। तर, मेडिकल काउन्सिलको मापदण्ड अनुसार करिब १६ बिगाहा जग्गा प्रतिष्ठानका लागि चाहिन्छ। जसका लागि घोराहीको नवलपुरमा २० बिगाहा ९ कठ्ठा जग्गा नि:शुल्क प्रतिष्ठानलाई दिन नवरपुर जग्गा विकास समितिका अध्यक्ष बलीभद्र रानाले सहमति दिइसकेका छन्।
अस्पतालको पूर्वतर्फ नजिकै पाँच कित्ताहरू ४०, ६६, ६७, ७० र ७८ मिलाएर प्रतिष्ठानलाई प्रदान गर्ने सहमति कायम भइसकेको छ।
घोराही उपमहानगरको ११३ औं पालिका बैठकबाट त्यसबारे निर्णय भइसकेको छ।
अब जग्गा प्रतिष्ठानको स्वामित्वमा आउन गृह मन्त्रालयको विपद व्यवस्थापनमा त्यो जग्गा प्रयोग हुँदैन भनेर एउटा सिफारिस बनाउन आवश्यक छ। नगरपालिकामा पनि विपद व्यवस्थापन समिति हुन्छ।
अब उपमहानगरपालिकाको विपद व्यवस्थापनले जिल्ला विपद व्यवस्थापनलाई पत्रचार गर्दै प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको विपद शाखामा उक्त जग्गा विपदमा प्रयोग हुँदैन र त्यो जग्गा प्रतिष्ठानको शैक्षिक कार्यका लागि प्रयोग गर्न दिनका लागि माइन्यूट गरिदिए जग्गा स्वामित्वमा आउने वातावरण तयार हुन्छ।
जिल्ला तहबाट हुने सबै प्रक्रिया लगभग पूरा भइसकेको छ। तर, क्याबिनेटबाट त्यो निर्णय पारित हुनुपर्छ। त्यसबारे आवश्यक प्रयास जारी रहेको प्रतिष्ठानका रजिष्टार थापाले बताए।
योबाहेक प्रतिष्ठानले चार सय शय्याको शिक्षण अस्पताल निर्माण गर्न कित्ता नम्बर ८१ को प्रतिष्ठानकै नाममा श्रेस्ता कायम रहेको जग्गामा ९ तलाको डबल बेसमेन्टसहितको गुरूयोजना तयार पारिसकिएको छ। जसमा झन्डै आधा दर्जन जति लिफ्ट, हेलिप्याड समेत रहेको छ।
यो संरचना निर्माण गर्न पुरानो अस्पताल भवनदेखि दक्षिणको प्रतिष्ठान प्रशासन कार्यालयसम्मको भू-भागका सबै पुराना संरचना हटाइ नयाँ र आधुनिक संरचना निर्माण गर्ने लक्ष्य लिइएको छ।
गुरूयोजना मन्त्रालयमा पेस भइसकेको छ। अब स्वीकृतिको अन्तिम अवस्थामा रहेको रजिष्टार थापाले जानकारी दिए।
झन्डै ३ सय करोड लागतमा निर्माण गर्न खोजिएको छ। स्वीकृति पाउनासाथ ठेक्का प्रक्रियामा गई शिक्षण अस्पताल निर्माण कार्यको थालनी गरिने थापाले बताए।
गुरूयोजना अनुसार काम भए प्रतिष्ठान लुम्बिनी प्रदेशकै सबभन्दा सुविधा सम्पन्न र नमूना अस्पताल बन्ने थापाले दाबी गरे।
साथै, नवलपुरमा प्राप्त जग्गामा आधारभूत विज्ञान संकायका लागि ठूलो संरचना निर्माण गरी ल्याबहरू सञ्चालन तथा चिकित्सकका लागि आवास क्षेत्र निर्माण गर्ने उद्धेश्य लिइएको छ।
प्रतिष्ठानलाई नपुगेको बाँकी जम्मै पूर्वाधार निर्माण नवलपुरमै गरिने गुरूयोजना बनाइएको छ। भने अनुरूप काम भए केही वर्षमै प्रतिष्ठान लुम्बिनी प्रदेश र कर्णाली तथा सुदूरपश्चिमको समेत सुविधा सम्पन्न अस्पताल बन्ने थापाले आशा व्यक्त गरे।
‘अहिले यहाँका सर्वसाधारण नागरिक र बिरामीले पाउनु सास्ती पाएका छन्,’ थापाले भने, ‘नेपालगन्ज वा बुटवल रिफर गर्नुपर्ने बाध्यता भने अनुरूप काम भए दुई तीन वर्षमै जिरोमा झर्नेछ।’