बाँकेको खजुरामा आज बिहान फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ।
खजुरा गाउँपालिका–३ स्थित खजुरा बजारको मुख्य चोकमा प्रेसर कुकरमा 'नो एमसिसी' लेखेर राखिएको अवस्थामा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
उनका अनुसार बजारको मुख्य चोकमा शंकास्पद वस्तु रहेको खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरी निष्क्रिय बनाउनका लागि नेपाली सेनाको भैरवप्रसाद गणमा खबर गरिएको थियो।
नेपालगञ्ज गुलरिया सडकखण्ड अन्तर्गत खजुराको बीच बजारमा बम फेला परेपछि केही समय सडक अवरूद्ध भएको थियो। सेनाले बम निष्क्रिय पारेसँगै यातायात सञ्चालनमा आएको उनले बताए।