सल्यानको छत्रेश्वरी गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि डेढ करोड बढी लगानीमा शंख पार्क निर्माण गरेको छ।
निर्मित शंखको आकृति नेपालकै सबभन्दा ठूलो आकारको भएको दाबी गरिएको छ।
श्रीस्वस्थानी व्रतकथामा सल्यानको शंखमूलको वर्णन गरेको पाइन्छ। नजिकैको पहाड छाया क्षेत्रमा सतिदेवीका सबै अंगहरू पतन भएपछि शिव भगवानले शंखमूलको कुण्डमा स्नान गरी कैलाश पर्वततर्फ निस्किएको उल्लेख छ।
त्यही भएर पार्कभित्र शिवले सतिदेवीलाई बोकेको मूर्ति पनि निर्माण गरिएको छ। पार्कभित्रै परम्परागत मौलिक प्रकृतिको खरले छाएको झुपडी पनि निर्माण गरिएको छ। चर्चित धार्मिकस्थल शंखमूल शारदा पुलदेखि झन्डै ४ सय मिटर जति उत्तर पश्चिम राप्ती राजमार्गको नजिकै अवस्थित छ।
शंखमूलको उक्त कुण्डमा सर्वसाधारणले सदियौंदेखि पाप नाश तथा पुन्य प्राप्तिको लागि स्नान गर्दै आएका छन्। जो छाया क्षेत्र मन्दिरको नजिकै पर्छ। त्यसभन्दा ठिक माथिको झन्डै ३ किलोमिटर दूरीको पहाडमा सतिदेवीको अन्तिम अंगको पतन भएको कथाहरूमा वर्णन गरिएको छ।
स्रोतका अनुसार शंख निर्माण गर्न मात्रै ३१ लाख बढी खर्च भएको छ। काठमाडौंको शंखमूलमा निर्मित शंखभन्दा सल्यान शंखमूलको आकार ठूलो छ। शंख पार्क निर्माण गरिएपछि त्यहाँ सर्वसाधारणको भिड लाग्ने गरेको छ।
निर्मित शंख पार्क निकट भविष्यमै उद्घाटन गर्ने तयारी गरिएको छ।
गाउँपालिकाको डेढ करोड बढी लगानीमा छत्रेश्वरी ६ शंखमूलमा शंख पार्क निर्माण कार्य पूरा गरिएको गाउँपालिकका अध्यक्ष सन्तोष केसीले सेतोपाटीलाई बताए।
‘पौराणिक धार्मिक ग्रन्थहरूमा उल्लेख भएको महत्वपूर्ण शंखमूलको अस्तित्व जोगाइ राख्न र शंखमूललाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न हामीले डेढ करोड बढी खर्चेर शंखपार्क निर्माण गरेका हौं,’ अध्यक्ष केसीले भने, ‘वरिपरि सुन्दर पहाड र नजिकै कलकल बग्ने शारदा नदीको किनारमा पक्की तटबन्ध निर्माण गरी शंख पार्क बनाएपछि आज त्यो हेर्न लायक भएको छ।’
यहाँ शंख पार्क निर्माण छत्रेश्वरी शंख पार्क धार्मिक क्षेत्र विकास समाज गठन गरी स्थानीय प्रशासनमा दर्ता पनि गरिएको छ।
शंख पार्कलाई नेपालकै प्रमुख धार्मिकस्थलका रूपमा विकास गर्न वैधानिक रूपमा स्थानीय प्रशासनमा दर्ता गरिएको अध्यक्ष केसीले बताए।
‘गाउँपालिकाबासी सबैको राय सल्लाहमा शंखमूलको महत्व दर्शाउन शंख पार्क निर्माण गरिएको हो,’ उनले भने, ‘व्यक्तिगत रूपमा मेरो ठाउँको प्राचीन, धार्मिक र ऐतिहासिक महत्व स्थापित गर्न के गर्न सकिन्छ भनेर त्यो मेरो सपना थियो।’
छत्रेश्वरी गाउँपालिकाले नै वडा नं. ६ को लान्टीमा दश लाख खर्चेर १०८ शिवलिंग निर्माण गरेको छ।
‘शिवलिंग निर्माण गरेपछि आज त्यहाँ पनि ठाउँ-ठाउँबाट मानिसहरू अवलोकनका लागि आउन थालेका छन्,’ अध्यक्ष केसीले भने, ‘त्यसले लान्टी बजारको विकास र विस्तारमा सहयोग पुग्नेछ भन्ने हामीलाई विश्वास छ।’
सत्य युगमा शिव भगवानले सतिदेवीको मृत शरीर बोकेर यात्रा गरेको पवित्र तिर्थस्थलको रूट मार्गलाई त्यही रूपमा विकास गर्न सके सल्यानले ठूलो लाभ लिन सक्ने उनले बताए।
शंख पार्क भित्रका शंख र शिव पार्वतीका मूर्तिहरू जिल्लाकै बागचौरका टोपेन्द्र डाँगीले निर्माण गरेका हुन्।
सल्यानमै नेपालकै प्रमुख धार्मिकस्थल मध्यको खैराबाङ भगवती देवीको मन्दिर पनि रहेको छ। जहाँ सर्वसाधारण मानिस सन्तानको वर माग्नेदेखि अन्य मागेका मनोकांक्षा पूरा हुने विश्वासका साथ पुग्ने गर्छन्।