रूकुमको सिस्ने गाउँपालिका २ बुर्किसल्लाको ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेको छ।
गाउँबाट अलिक टाढा जंगलको ओढारमा कालो ड्रमभित्र ठूलो संख्यामा बम फेला परेको रूकुमका जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जितेन्द्र बानियाँले सेतोपाटीलाई जानकारी दिए।
प्रहरी निरीक्षक बानियाँका अनुसार बमहरू बोरामा राखेर ड्रममा राखिएको र केही बम बाहिरै ओढारमा फेला परेका हुन्।
बिहिबार बेलुका ५ बजेतिर जंगलमा बस्तु चराउन गएका स्थानीयले उक्त ओढारमा लुकाइछिपाइ राखेको बम फेला पारेर वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए।
वडाध्यक्ष केसीले लगत्तै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
ती बमहरू पुराना रहेकाले युद्वकालमै लुकाएर राखिएको हुनसक्ने प्रहरी निरीक्षक बानियाँले बताए।
बानियाँका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ जाँदै गरेको छ।