दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ गाउँस्थित हरि रिजालको ड्रागन फ्रुटको फार्ममा फागुन २७ गते बेलुका ६ बजे बम फेला पर्यो। जतिखेर रिजाल काठमाडौंमा थिए।
फार्मभित्र बम रहेको खबर रूकुम पश्चिमको बाफिकोट गाउँपालिकाको झुला घर भई हाल तुलसीपुर ४ स्थित रिजालकै फार्ममै श्रीमती र छोरीका साथ बस्दै आएका २४ वर्षीय जनक देवकोटाले दिएका थिए।
डेढ बिगाहाको ड्रागन फार्मभित्र बम भएको खबर पाउनासाथ रिजालले तत्काल प्रहरीलाई खबर गर्न र फार्म जान जीवन भण्डारीलाई आग्रह गरे। भण्डारी जनता समाजवादी पार्टी नेपालका संघीय परिषद सदस्य मात्रै हैनन् तुलसीपुरस्थित राप्ती लाइभ केयर हस्पिटलका निर्देशक हुन्। रिजाल पार्टीका केन्द्रीय सदस्य र हस्पिटलका अध्यक्ष हुन्।
भण्डारीले रिजालले भनेजस्तै गरी प्रहरीलाई खबर गरे। प्रहरी फार्ममा पुग्यो। डिस्पोज गर्ने भनेर नेपाली सेना पनि पुग्यो। रातिमा सम्भव नभएपछि बिहानै डिस्पोज गर्ने भनेर राति १२ बजेपछि सुरक्षाकर्मी फर्किए।
तर, अर्को दिन बिहानै पुग्दा फार्म प्रवेश गर्ने गेटभित्र अर्को त्यस्तै बम राखेको फेला पर्यो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले त्यतिबेलै आशंका उत्पन्न भए पनि शंकाको भरमा कसैलाई नियन्त्रणमा लिन ठिक ठानेनन्।नेपाली सेनाले डिस्पोज गर्दा ती दुबै नक्कली बम भएको पुष्टि भयो।
त्यसपछि फागुन ३० गते सोही फार्मको गेटमा अंग्रेजीमा लेखिएको चिठी फालेको अवस्थामा फेला पर्यो । चिठी कम्प्युटराइज्ड गरिएको थियो।
जसमा जसपाका केन्द्रीय सदस्य रिजाल र संघीय परिषद सदस्य भण्डारीलाई दाङबाट एमसिसी पास गर्न सघाएको, देश बेचुवा, अमेरिकी दलाल लगाएतको संज्ञा दिँदै ज्यान लिनेसम्मको धम्की दिइएको थियो।
चिठीको अन्त्यतिर फार्ममा काम गर्ने केटा जनक देवकोटालाई सुरक्षित स्थानमा सार्न चेतावनी पनि दिइएको थियो।
त्यसपछि चैत ६ गते बेलुकी ६ बजेतिर रिजालको मोबाइलमा म्यासेज आयो। त्यसमा ड्रागन फ्रुटको फार्ममा काम गर्ने देवकोटा आफ्नो नियन्त्रणमा रहेको जानकारी मात्रै थिएन जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई आफूहरूविरूद्ध ट्विट गर्न लगाइएको भनेर धम्कीसमेत दिइएको थियो।
सोही दिन राति साढे ११ बजेतिर फेरि अर्को म्यासेज आयो। जसमा चैत १ गते बिहान १० बजेतिर दाङ–सल्यान सडक खण्डको तुलसीपुर–३ स्थित राम्री क्षेत्रको जंगलको मूलकोटको मुहान क्षेत्रमा ५० लाख रुपैयाँ फिरौती बापतको रकम लिएर आउन चेतावनी दिइएको थियो। त्यसमा बुटवल वस्त्रालयको साहु राजेन्द्र श्रेष्ठको अपहरण पछिको हत्या प्रसंग जोड्दै प्रहरीलाई खबर गरे आफ्नो नियन्त्रणमा रहेका युवक जनक देवकोटालाई सिध्याइदिने चेतावनी थियो।
त्यो म्यासेजले रातभर रिजाल सुत्न सक्ने कुरै थिएन।
यी सबै कुरा रिजालले प्रहरी प्रशासनसँग सेयर गरे पनि प्रहरीकै आग्रहमा कुरा गोप्य राख्दै आएका थिए। इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार सोमबार लमहीको अमेलिया जंगल क्षेत्रको सडक खण्डमा फेला परेका हुन्।
‘देवकोटाको परिवारलाई चार लाख ऋण रहेको हुँदा नाटक मञ्चन गरी सजिलै ठूलो रकम असुल्ने लालच पालेको जस्तो देखिएको छ,’ डिएसपी अर्यालले भने, ‘यसमा अरू कसैको संलग्नता छ वा छैन? त्यसबारेमा थप अनुसन्धान हुन बाँकी नै छ।’
तर, डिएसपी अर्यालले प्रहरी नियन्त्रणमा रहेका देवकोटाकी श्रीमतीको भने घटनामा कुनै पनि संलग्नता नदेखिएको जानकारी दिए।
देवकोटालाई थप अनुसन्धान गर्न भन्दै इप्रका तुलसीपुरबाट जिल्ला प्रहरी कार्यालय घोराही लगिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बुधबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गर्ने बताएका छन्।