हप्ता दिनअघिदेखि प्रतीक्षा गरेपछि यही चैत पहिलो साता एक दिन डा. सुलक्ष्मी कटवाललाई भेट्ने साइत जुर्यो। उनी इलामकी स्थायी बासिन्दा हुन्। चिकित्सा पेसाको सिलसिलामा १६ वर्षअघि दाङको तुलसीपुर आइपुगेकी थिइन्। यति लामो समय उनी तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा कार्यरत छिन्।
डा. सुलक्ष्मी नेत्ररोग अर्थात आँखारोग चिकित्सक हुन्। वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सुलक्ष्मी हरदम व्यस्त हुन्छिन्। केही बेरको कुराकानीपछि उनी लमही अस्पतालमा उनलाई प्रतीक्षा गरिरहेका बिरामीको शल्यक्रियाको लागि हिँडिन्।
कुराकानीकै क्रममा उनको देब्रे हातको नारी फुलेको देखियो। हातमा के भएको हो भनेर जिज्ञासा राख्दा उनले जवाफ दिन नचाहेको भाव प्रकट गरिन् र मधुर मुस्कानले टारिन्।
उनी गाडी चढ्न अघि बढेपछि हिँड्दा हिँड्दै दोहोर्याएर जिज्ञासा राख्दा 'स्तन क्यान्सरको असरले हात सुन्निएको' बताइन्। उनी हतारमा थिइन्, थप कुरा हुन पाएन तर उनी त्यति गम्भीर रोगबाट पीडित रहेको कुनै संकेत थिएन। उनी आफूलाई कुरिरहेका बिरामीको चिन्तामा थिइन्।
कुराकानीका क्रममा डा. सुलक्ष्मी १६ वर्षअघिको स्मृतिमा पुगिन्। उनले भनिन्, 'म यहाँ (दाङ) आउँछु भनेर सोचेकी पनि थिइनँ, कर्तव्यबोधले यहाँ ल्याइपुर्यायो।'
उनी काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा एमडी अध्यनरत थिइन्। काखमा तीन वर्ष उमेरका छोरा थिए। सात वर्ष रूसमा पढेर फर्किएपछि उनको बिहे भएको थियो। उनका अनुसार परिवार र आफन्तबाट दोस्रो सन्तान जन्माउन दबाब बढ्न थालेपछि उनी त्यसलाई टार्न एमडी पढ्न भर्ना भइन्।
उनले एमडी पूरा गरिन्। मुलुकमा नेत्र विशेषज्ञहरूको अभाव थियो। गेटा अस्पताका चिकित्सक डा. विद्याले चिया गफमा डा. सुलक्ष्मीलाई दाङ जाने हो कि भनेर सोधे।
डा. सुलक्ष्मीले घरमा सल्लाह गरेर निधो गर्छु भनिन्। उनका श्रीमान अर्थोपेडिक सर्जन हुन्। घरसल्लाह मिल्यो। उनी दाङ पुगिन्।
इलाममा जन्मेहुर्केकी डा. सुलक्ष्मीलाई दाङ उपत्यकाको परिवेश मन पर्यो।
'म गाउँले परिवेशमै हुर्केबढेकी हुँ, मलाई सहरमा भन्दा गाउँमा बस्न मन पर्छ,' उनले भनिन्, 'म दाङमा पनि रमाएँ, मलाई धेरै फरक परेन।'
उनी सुरूमा पाँच वर्षको सम्झौतामा राप्ती आँखा अस्पताल आएकी थिइन्। काम गर्दै बस्दै जाँदा सबैसँग घुलमिल भइन्। भन्छिन्, 'दाङमा मेरो बसाइ लम्बिँदै १६ वर्ष पुग्न लाग्यो। राप्ती आँखा अस्पतालाई नै केही योगदान गर्नुपर्छ भन्ने लागेर यहीँ बसेँ।'
नेत्रज्योति संघका पदाधिकारीको सहयोग र मिहिनेती टिमका कारण उनले राप्ती आँखा अस्पताल छाडेर अन्त कतै जाने कुरा सोच्नै परेन।
डा. सुलक्ष्मी दाङ आउँदा अस्पतालमा डाक्टरको अभाव थियो। एक जना डाक्टरले दुई–तीन ठाउँमा बिरामी हेर्नुपर्थ्यो।
'त्यति बेला काम गर्न निकै च्यालेन्ज थियो। म एकै दिन तीन वटा अस्पतालमा अपरेसन गर्न जानुपर्थ्यो,' उनी भन्छिन्, 'यात्राका क्रममा गाडीमै आराम गर्नु पर्ने दिन पनि थिए। म बिरामीको सेवाका लागि गाडीमै खाना खाँदै पनि हिँडेकी छु।'
अपरेसनका लागि एकै दिन चार वटा अस्पतालमा पुगेको पनि डा. सुलक्ष्मीलाई सम्झना छ।
'मैले एकै दिन १६२ जनाको मोतिबिन्दुको अपरेसन गरेकी छु,' उनले भनिन्, 'बिरामी र तिनका कुरुवालाई एक रात बढी पनि ब्यर्थमा कुराउनु हुँदैन बरू मैले नै दुई घन्टा बढी काम गर्नुपर्छ।'
डा. सुलक्ष्मीको बाल्यावस्थामा इलाममा राम्रो अस्पताल थिएन। उपचार गर्न दार्जिलिङ जानुपर्थ्यो। पैसा खर्च गरेर कयौं दिन बस्नु पर्ने पनि हुन्थ्यो। उपचारका क्रममा बसाइमा बढी व्ययभार हुन्छ भन्ने कुरा उनले थाहा पाएकी थिइन्।
'त्यति बेलाको पीडा मलाई राम्रो सम्झना छ,' उनले भनिन्, 'एक रात पनि किन बिरामी र उनका कुरुवालाई अल्झाइराख्नु भन्ने मलाई लाग्छ।'
डा. सुलक्ष्मी अस्पतालकै आवासमा बस्छिन्। यसकारण जुनसुकै बेला पनि बिरामीको सेवामा उपलब्ध हुन सक्छिन्।
'श्रीमान छुट्टै ठाउँमा, छोरा होस्टलमा, मलाई बिरामीका लागि जति पनि समय दिन सहज छ,' डा. सुलक्ष्मी भन्छिन्, 'डाक्टरले अल्छी गरेर बिरामीलाई समय नदिएर बढी खर्चमा पार्नु अपराध हो।'
सेवाको सिलसिलामा श्रीमान र छोराबाट टाढा रहे पनि उच्चस्तरको पारिवारिक समझदारी रहेको उनले बताइन्। चाडपर्व हुँदा र परिवारमा कोही बिरामी परेको अवस्थामा बिदा नमिल्दा केही नरमाइलो लागे पनि आफ्नो जिम्मेवारी सम्झेर चित्त बुझाउने गरेको उनको भनाइ छ।
'एक पटक ससुरालाई ब्लड क्यान्सर थियो। उहाँ आइसियूमा पुगेपछि मात्रै मलाई बिदा मिल्यो,' उनले भनिन्, 'मेरा बुबा र आमाको समयमा पनि त्यस्तै घटना भयो। उहाँहरू आइसियू र भेन्टिलेटरमा पुगेपछि बल्ल बिदा पाएँ।'
आफ्नो साटो डाक्टर खोजेर मात्रै हिँड्न मिल्ने भएकाले बिदा लिन कठिन हुने गरेको उनले बताइन्।
'म त सात–आठ महिनामा मात्रै एक पटक घर जान पाउँछु। छोराको विद्यालय बिदा हुँदा आफन्तले मकहाँ ल्याइदिन्थे, कोही स्टाफ काठमाडौं जाँदा उनैको साथमा छोरालाई पठाउँथेँ,' उनी भन्छिन्, 'छुट्टीको समयमा श्रीमान र छोरालाई दाङमै बोलाउँछु।'
परिवारबाट टाढा भएर अस्पतलाको आवासमा एक्लै बस्ने हुँदा जहिल्यै शिविरमा बसेजस्तै लाग्ने उनको भनाइ छ। तैपनि जिम्मेवारी बोधले उनलाई सम्हाल्छ।
विकट ठाउँका शिविरमा जाँदा उकालो ओह्रालो पैदल यात्रा, खानपिनमा भिन्नता र बिरामीको सेवाले उनलाई सन्तोष प्राप्त हुन्छ।
डा. सुलक्ष्मी आमाबुबाकी कान्छी सन्तान हुन्। आमा ४५ वर्ष उमेरकी हुँदा दार्जिलिङमा उनी जन्मिन्।
'म एक्सिडेन्टल्ली (अचानक) जन्मिएँजस्तो लाग्छ। आमाले ट्युमर हो कि के हो भनेर सोच्दै गर्दा पेटमा म चल्न थालेपछि फाल्न मान्नु भएनछ र म जन्मिन पाएँ,' उनले भनिन्, 'चिकित्सकले आमाको स्वास्थ्यका लागि बच्चा फाल्नु राम्रो हुन्छ भनेर सल्लाह दिएका रहेछन् तर मान्नु भएनछ।'
बढी उमेरका कारण अलि जटिल हुने ठानेरै आमा सुत्केरी हुन दार्जिलिङ गएको उनले बताइन्।
उनी जन्मिँदा आमालाई दुःख दिएकी छोरी भनेर कतिले कुरा काटेका रहेछन्।
'मेरी हजुरआमाले यो नानी आफू बाँची, उसकी आमा पनि बाँची, यो त लक्ष्मी हो भन्नुभएछ,' डा. सुलक्ष्मीले भनिन्, 'हजुरआमाले नै मेरो नाम लक्ष्मी राख्नुभएछ।'
आमाको प्रजनन क्षमताको उत्तरार्द्धमा जन्मेकी लक्ष्मी कसरी भइन् त सुलक्ष्मी?
उनका अनुसार नाम अलि साधारण भयो भनेर दाजुदिदीले नामको अगाडि 'सु' थपेर सुलक्ष्मी बनाइदिएका रहेछन्।
डा. सुलक्ष्मीका पाँच दिदीबहिनी र तीन दाजुभाइ छन्। उनी पढ्दै गर्दा सबै जना आआफ्ना पेसामा लागेका थिए। भिनाजुहरू पनि वकिल, इन्जिनियर थिए। उनलाई पनि मैले केही राम्रो काम गर्नुपर्छ भन्ने दबाब महसुस हुन्थ्यो।
परिवारका अग्रजहरूले उनलाई डाक्टर बन्नु पर्छ भन्ने गरेका थिए। यसले उनको मनमा डाक्टर हुने चाह बढाइदियो। कक्षा ८ मा पढ्दा नै उनले आफू डाक्टर बन्ने निधो गरिन्। उनी यसैलाई जीवनको लक्ष्य बनाएर अघि बढिन्।
चाहेजस्तै भयो। चिकित्सा शिक्षा बढ्न रुस जाने अवसर पाइन्। त्यहाँ सात वर्ष पढेर फर्किन्। लगतै बिहे भयो, बच्चा पनि भयो।
सुरूमा उनले तिलगंगा आँखा अस्पतालमा मेडिकल अफिसरका रूपमा चिकित्सा अभ्यास सुरू गरिन्। एमबिबिएस पढ्दासम्म आँखाको डाक्टर बन्छु भन्ने सोचेकी थिइनन्। काम गर्ने क्रममै सोचिन् र तिलगंगाबाटै एमडी पढेर नेत्ररोग विशेषज्ञ बनिन्।
डा. सुलक्ष्मीका अनुसार इमानदारीपूर्वक सेवाभावले काम गर्दा सबै क्षेत्रमा डाक्टरको काम उस्तै भए पनि आँखा उपचारमा तुरुन्तै परिणाम देखिन्छ।
'अपरेसन सकिनासाथ जब मानिसले नयाँ ज्योति पाउँछ, त्यो बेला उसले व्यक्त गर्ने खुसीको वर्णन शब्दमा सम्भव हुँदैन,' उनी भन्छिन्, 'उनीहरू हामीलाई भगवान मान्छन्, सम्मान गर्छन्, अँगालो हाल्छन्, धन्यवाद दिन्छन्।'
यस्तो क्षणमा उनलाई आफू नेत्ररोग विशेषज्ञ हुनुको सन्तोष प्राप्त हुन्छ, गौरव अनुभूति हुन्छ।
राप्ती आँखा अस्पतालका चिकित्सकहरू बाहिर क्लिनिकमा बिरामी जाँच्न पाउँदैनन्। यसो हुँदा बिरामीले डाक्टरलाई आफैंप्रति समर्पित ठान्छन् र व्यक्तिगत फाइदामा कुदेको सम्झिँदैनन्।
'बाहिर कसैलाई सिफारिस गर्दा एउटा चस्माबाट दुई सय रूपैयाँ आउँछ भन्ने हुँदैन। आज भ्याइएन भनेर कसैलाई टार्नु पनि पर्दैन,' डा. सुलक्ष्मी भन्छिन्, 'यसले बिरामी र डाक्टरको बीचमा विश्वासको वातावरण बनेको छ।'
सेवाको व्यस्तताले कहिलेकाहीँ निजी जीवन अधुरो पो भयो कि जस्तो नलाग्ने होइन तर डा. सुलक्ष्मीलाई बिरामीको खुसीले दिनसम्म सन्तुष्टि दिन्छ। यही नै उनको जीवनको खुसी बनेको छ।