आफ्नो पसलमा काम गर्ने कालीगढले ४० हजार सापटी लिएको पैसा नदिएको भन्दै उनको परिवारलाई 'बन्धक' बनाएर राख्ने एक व्यक्ति पक्राउ परेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भई तुलसीपुरको (क) लाइनमा न्यू नेपाल सुनचाँदी पसल सञ्चालन गर्दै आएका ललितकुमार गुप्ताले आफ्नो पसलमा काम गर्ने कालीगढ र उनको परिवारलाई दस घन्टा थुनेका थिए।
थुनेको खबरपछि प्रहरीले सोमबार बेलुका उद्धार गरेको थियो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पसल धनी गुप्ताले भारतको मेघापुर जिल्ला कलकत्ता पञ्चायत वडा नं. ३ घर भई विगत चार महिनादेखि तुलसीपुरस्थित न्यू नेपाल सुनचाँदी पसलमा कालीगढको काम गर्दै आएका ३८ वर्षीय सोनु बेरा, उनकी ३३ वर्षीया श्रीमती सम्पा बेरा र उनीहरूकी ४ वर्षीया छोरी इशा बेरालाई सोमबार बिहान साढे ८ बजेदेखि साढे ६ बजेसम्म आफ्नै घरको कोठामा थुनेर राखेको अवस्थामा उद्धार गरिएको हो।
पसल धनी गुप्ताले तुलसीपुरस्थित बिएसएस पार्टी प्यालेस नजिकै रहेको आफ्नो निजी निवासको अन्डरग्राउन्डमा बेराको परिवारलाई ताल्चा लगाएर थुनेर रोखेको अवस्थामा उद्धार गरिएको इप्रका प्रमुख अर्यालले सेतोपाटीलाई बताए।
गुप्ताकै पसलमा काम गर्ने बेरा परिवार गुप्ताकै घरमा कोठा भाडामा बस्दै आएका थिए।
नाबालिकासहित उनकी आमालाई समेत बन्धक बनाएर राख्ने पसल सञ्चालक गुप्तालाई प्रहरीले बेरा परिवारको उद्धारपछि पक्राउ गरेको थियो।
पक्राउ गरिएका गुप्तालाई मंगलबार म्याद थपका लागि जिल्ला अदालत घोराहीमा पठाइएको डिएसपी अर्यालले जानकारी दिए।
‘सापटी बापत दिएको ४० हजार रकम माग्दा नदिएको आरोपमा बेराको परिवारलाई गुप्ताले बन्धक बनाएर राखेको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी अर्यालले भने, ‘नाबालिकासहित आमा-बुवालाई दस घन्टासम्म बन्धक बनाएर राख्ने गुप्तालाई कानुन कारबाहीको प्रक्रिया थालेका छौं।’