वरिपरी तारबार लगाएको छ। प्रवेशद्धारमा ताल्चा झुण्डिएको छ। अहिले अर्को तारबार र गेट थपिएको रहेछ। मैले फोन गरि आफू आएको जनाउ दिएँ। उनीभन्दा पहिलै ‘टाइगर’ दौडिएर आयो। खाइलाग्दो र डरलाग्दो भएछ टाइगर।
सुँघेर उसले वरिपरी फन्को लगायो। ‘न डराउनुस्, म यही छुँ केही गर्दैन,’ लोकेन्द्र विष्टमगरले परैबाट भने।
‘टाइगर’ रूकुम पश्चिमको हुकाम (हिमाली) भेगबाट ल्याइएको कुकुर हो।
पूर्व मन्त्री तथा नेकपा माओवादीका पूर्व नेता विष्टमगरले आफ्नो पुर्ख्यौली घरबाट डेड वर्षअघि दुई वटा कुकुरका छाउरा ल्याएका थिए।
दुईमध्ये अहिले टाइगर मात्र छ, अर्कोलाई अस्पतालमै राखेर उपचार गर्दा पनि बचाउन सकेनन्।
तुलसीपुर उपमहानगरपालिका-१८ विजौरी मैरवास्थित विष्टको ड्रागन फ्रुट बगैंचाको एक्लो रक्षक हो-टाइगर। उसले जो कोहीलाई बगैचामा प्रवेश गर्न दिँदैन।
विष्टले यहाँ ड्रागन फ्रुट खेती गरेको आउने असारमा ४ वर्ष पुग्छ।
चुनावी रन्कोबीच बगैचामा हामी पुग्दा छत्रे टोपी लगाएका ६० वर्षे पुग्न लागेका विष्ट शान्त थिए।
हामी गफिँदै ड्रागन फ्रूट बगैंचामा केहीबेर डुल्दा टाइगर अघि अघि थियो। केही बेरमा विष्टले हामीलाई स-सना तीन वटा कटेरामा पुर्याए। ‘लौ मेरो निवास यही हो,’उनले भने, ‘यही एभोकाडोको छाँयामुनी बसौं है।’
पूर्व मन्त्री विष्टर उनकी पत्नी गंगा यही बस्छन्। एक्ली सन्तान छोरीले बिहे गरेर गएपछि यो बगैचाको हेरचाह विष्टदम्पतीले मात्र गर्दै आएका छन्।
बाटोमै रहेको उनको बगैचा बाहिर बिभिन्न पार्टीका झन्डा बोकेका गाडीहरू लगातार ओहोर-दोहोर गरिरहन्छन्।
निर्वाचन आचार संहिता विपरित ठूला माइक राखेर चर्कौ स्वरमा गीत बजाउँदै प्रचार प्रसार गर्नेको होडबाजी चलिरहेको उनी नियमित देख्छन्।
तर, आज उनलाई यी चुनावी नारा र होडबाजी मिथ्था लाग्छ। सक्रिय राजनीतिमा ४० वर्ष विताएका विष्टपछिल्लो समय राजनीतिबाट ऐच्छिक अवकाश लिएर कृषिकर्ममा लागेका हुन्।
जो ब्यवस्था परिवर्तनका लागि विद्रोहमा होमिए। सर्वहारा वर्गको राज्यसत्ता स्थापना गरि मुलुकमा लोकतन्त्रिक गणतन्त्र ल्याउन नेपाल र भारतका बिभिन्न कारागार १० वर्षभन्दा बढी समय जेल जीवन भोगे उनैलाई आज राजनीतिक दलका लागि उत्सव ठानिने निर्वाचन संघारमा आउँदा पनि कुनै रूची छैन। चुपचाप बगैचामा काम गरिरहेका भेटिन्छन्।
फुर्सदको समयमा उनी साहित्यीक कृति, दर्शन, राजनीति र इतिहास आदिका किताब पढ्ने गरेका छन्।
जो कोही मानिस आजीवन राजनीतिमै हुने भएकाले आफूले अहिले पनि राजनीतिक पुस्तकहरू खोजी खोजी पढ्ने गरेको बताए। विष्टलाई राजनीति भनेको जनप्रतिनिधि हुने, सरकारमा जाने र नीति निर्माणमा पुग्ने मात्रै होइन भन्ने लाग्छ।
‘राजनीति भनेको सामाजमा राज्यसत्ता कसरी चलेको छ? ठिक छ कि छैन? राज्य सञ्चालन गर्ने विधि कस्तो छ? नीति कस्तो छ? नेतृत्व कस्तो छ? भन्ने कुरा बुझ्ने विधि र तरिकाको नाम राजनीति हो’, उनले अर्थ्याए।
‘यस्तो राजनीतिक उत्सव छ। त्यति लामो समय राजनीति गरेको, दुई पटक मन्त्री भएको मानिस निर्वाचनको समयमा कसरी शान्त बस्न सकेको?’, भन्ने सेतोपाटीको प्रश्नमा उनले भने, ‘मलाई राजनीतिमा गएर कुनै पद ओगट्नु छैन। म यो गर्छु र त्यो गर्छु भनेर उल्लु बन्नु र बनाउनु छैन। राजनीति बिना मलाई खाना रूच्दैन र निन्द्रा लाग्दैन भन्नु छैन। मैले मेरो ठाउँबाट राजनीति गरेर आइसकेँ। मेरो कोर्ष पुरा भइसक्यो। अब बाँकी जीवन शान्तपूर्वक जीउने हो।’
दलहरू यसरी होडबाजीमा उत्रिएको देख्दा उनलाई चित्त बुझ्दैन । त्यसरी होडबाजीमा उत्रनुभन्दा धेरै कुरा नगरी, खर्च पनि धेरै नगरी जति क्षमता हो त्यत्ति मात्रै भन्ने गरे मतदाताले पत्याउने उनको बुझाई छ।
रोजगारी सृजना, महंगी नियन्त्रण, कृषिमा लगानी, उद्योग कल कारखाना खोल्ने, गरिबी घटाउने जस्ता कुरा तर्फ कमैले ध्यान दिएको उनले गुनासो गरे।
विष्टले पछिल्लो समय गठन भएको पाँच दलीय गठबन्धन अत्यन्तै ‘अपवित्र’ भएको टिप्पणी गरे।
‘लोकतान्त्रिक गणतन्त्रमा यसरी गठबन्धन गर्नु जनताप्रतिको षडयन्त्र हो,’ उनले प्रष्ट पारे, ‘किन षडयन्त्र हो भने जनताका सामु आ–आफ्ना एजेण्डा, घोषणा पत्र लिएर सरल ढंगले जाँदा उनीहरुको हैसियत मापन हुन्थ्यो ’
जनताले जसलाई जति मत दिन्छन् त्यही आधारमा मिलिजुली सरकार बनाएको भए हुनेमा उनको सुझाव छ।
'हिजो कमरेडहरूले दुई तिहाई बहुमतको सरकार त चलाउन सकेनन्, कांग्रेस र गैर कम्युष्निट मिलेर बनेको गठबन्धनलाई कसरी पवित्र मान्नू' उनले प्रश्न गरे।
पूर्वमन्त्री विष्टपहिले रूकुमकै मतदाता थिए। २०७४ सालको निर्वाचनभन्दा पहिले उनले आफ्नो नामावली काठमाडौं सारे। काँडाघारीमा उनको घर छ। बिष्टकै शब्दमा भन्दा उनको सम्पत्ति भन्नु त्यही एउटा घर मात्रै हो। त्यहाँ अहिले उनका छोरी ज्वाँई बस्छन्।
उनले आफूकहाँ अहिलेसम्म भोट माग्न कोही नआएको दाबी गरे। ‘हामी कहाँ गेट सँधै बन्द हुन्छ,’ उनले भने, ‘त्यही भएर होकि अहिलेसम्म भोट माग्न कोही आएका छैनन्।’
झन्डै साढे तीन बिगाहा क्षेत्रफलको डाँडामा उनले विगत चार वर्षदेखि ड्रागन फ्रुट खेती गर्दै आएका छन्। उनले १५ वर्षलाई यो जग्गा भाडामा लिएका हुन्।
पछिल्लो समय उनको फार्म हेर्नेको लर्को लागेको छ। फार्म हेर्न आउनेले अहिले शुल्क तिर्नुपर्छ। ५० रूपैयाँ शुल्क तिरेपछि पुरै फार्म घुमाइदिन्छन्।
उनको खेती पर्यटन प्रवर्द्धनका दृष्टिकोणले पनि महत्वपूर्ण मान्न थालिएको छ।
हिजो आज उनको सिको गर्दै जिल्लाका विभिन्न स्थानमा ड्रागन खेती हुन थालेको छ। उनी त्यसैमा खुसी छन्। उनले नै उत्पादन गरेका विरूवा लगेर अरूले विस्तार गरिरहेका छन्।
‘मैले खुसी पाएको छु। काम मज्जाले गर्यो खाना मज्जाले रुच्छ र मिठो निन्द्रा लाग्छ,’ जीवनमा त्यो भन्दा खुसी केही हुन नसक्ने उनले दाबी गरे।
खेती गरेर आफूले कुनै प्रतिष्ठा नगुमाएको उनी बताउँछन्। ‘कतिपयलाई राजनीति गुम्यो, पद गुम्यो भन्ने होला । मलाई कुनै प्रतिष्ठा गुमाएको जस्तो लाग्दैन,’ उनले थपे, ‘ हिजो जस्तै आज पनि म कतिपय मानिसको दिल दिमागमा बसेकै छु।’
अघिल्लो वर्ष उनलाई लुम्बिनी प्रदेश सरकारले 'प्रदेश किसान रत्न' दिने घोषणा गरेको थियो। तत्कालिन कानुन मन्त्री र अहिलेका मुख्य मन्त्री कुलप्रसाद केसी (सोनाम) ले बधाई दिँदै पुरस्कार लिन आउन निम्ता पनि दिएका थिए। तर, मन्त्री भइसकेको ब्यक्ति भएकाले आधिकारिक पत्र नपाई आफू पुरस्कार लिन नगएको उनले बताए।
आफू लिन नगएकाले त्यो पुरस्कार उतै रहेको हुनसक्ने उनले जानकारी दिए।