दाङमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा परी पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतसहित नौ जना घाइते भएका छन्।
सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको पूर्व सामान्य प्रशासनमन्त्री बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो।
इलाका प्रहरी कार्यालय तुसलीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले दिउँसो साढे दुई बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राना गाउँमा बोलेरो र एम्बुलेन्स ठोक्किएका थिए।
घाइते बस्नेतलाई टाउको र पछाडिको गर्दनमा गाडीको सीसाले काटेर घाउ लागेको छ। यो खबर तयार पार्दासम्म नेता बस्नेतसहित अन्य सबै घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
उक्त दुर्घटनामा परी बोलेरो चालक सल्यानको बाघचौर नगरपालिका वडा नं. ७ का २८ वर्षीय रमेश वली, बाघचौर –८ का ५७ वर्षीय नेता बस्नेत, कपुरकोट गाउँपालिका वडा नं. २ का २७ वर्षीय महेश घर्ती, एम्बुलेन्स चालक रूकुम पश्चिमको बाफीकोट गाउँपालिका वडा नं. २ का ३२ वर्षीय कालिभान खत्री, सोही ठाउँका ७६ वर्षीय डिलु खत्री, मुसिकोट नगरपालिका–५ का २१ सुवास शर्मा, सोही ठाउँका ३२ वर्षीय शम्भुप्रसाद शर्मा, सोही ठाउँका ४२ वर्षीय श्यामप्रसाद शर्मा र सोही ठाउँकै २६ वर्षीया राधिका शर्मा छन्।
एम्बुलेन्सले साइड पनि दिएन, हर्न पनि बजाएन – बस्नेत
घाइते भई अस्पतालमा उपचाररत् पूर्वमन्त्री बस्नेतले एम्बुलेन्स र साइरन पनि नदिएको र हर्न पनि नबजाएको कारण दुर्घटनामा परेको सेतोपाटीलाई प्रतिक्रिया दिएका छन्।
नेता बस्नेतले एम्बुलेन्सको साइरन बिग्रेको जस्तो आफूलाई लागेको बताए।
‘म चाहिँ अगाडिको सिटमा थिएँ र मलाई दुर्घटना भयो भन्ने लाग्यो अनि टाउको जोगाउन घोप्टो परेँ,’ घाइते बस्नेतले भने, ‘मैले घोप्टो परेर टाउको त जोगाउन सकेँ, तै पनि मलाई सीसा फुटेर टाउको र गर्दनमा काट्यो।’
घाइते बस्नेतले आफ्नो अवस्था सामान्य रहेको पनि जानकारी दिए।
गाडीमा आफूहरू तीन जनामात्रै सवार रहेको उनले बताए।
‘तुलसीपुरमा काम परेकोले म आउँदै थिएँ र हामी केहीबेरमै फेरि मतदानका लागि सल्यान नै फर्किने योजना थियो। यस्तो भइदियो।’