लुम्बिनी प्रदेशका ग्रामीण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकारले दाङ तुलसीपुरस्थित टरिगाँउ एयरपोर्टको धावनमार्ग विस्तार गर्ने बताएका छन्।
आइतबार प्राविधिकसहित एयरपोर्टको अनुगमनपछि चौधरीले अहिलेसम्म टरिगाँउ एयरपोर्ट विस्तारका लागि धेरै खर्च लाग्छ भनेर गलत कुरा फैलाइएको भन्दै ४०/५० करोडमा धावनमार्ग विस्तार गर्न सकिने बताए।
‘हामी संघीय सरकारलाई गुहार्ने छौं,’ मन्त्री चौधरीले भने. ‘संघले बेवास्ता गरे प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यबाट धावन मार्ग विस्तार गरिनेछ।’
पहिला ९ देखि २० अर्ब लाग्छ भनेर आफूहरूलाई गतल सूचना दिइएको र अहिले प्राविधिकसँग बुझ्दा २० देखि ४० करोडको लगानीमा धावनमार्ग सहजै विस्तार गर्न सम्भव भएको तथ्य पत्ता लागेपछि प्रदेश सरकारको पहलमा धावन मार्ग विस्तार गरिने मन्त्री चौधरीले बताए।
‘हामीलाई पहिले अर्बौं रकम लाग्छ, धेरै घर भत्काउनु पर्छ भनियो। त्यो गलत रिपोर्टिङ रहेछ,’ चौधरीले भने, ‘कुनै घर नभत्काए पनि अर्बभन्दा कम लगानीमा टरिगाँउ एयरपोर्ट सहजै विस्तार गर्न सम्भव रहेछ।’
टरिगाँउ विमानस्थल लागि बजेट छुट्याउन प्रधानमन्त्री र अर्थ मन्त्रीलाई आग्रह गरिएको जानकारी दिँदै मन्त्री चौधरीले संघीय सरकारले बजेट नछुट्याए पनि लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयको नेतृत्वमा विमानस्थल विस्तारको काम सुरू गरिने उनले बताए।
बुधबार मात्रै टरिगाँउ एयरपोर्टमा काठमाडौंबाट इन्धन भर्न ११ हजार लिटर क्षमताको बाउजर आइपुगेको छ। इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख बिपिनकुमार श्रेष्ठले हवाई इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।
हाल ३० हजार लिटर क्षमताको ट्यांकलाई फाउन्डेसनमा राखेर फिटिङको काम चलिरहेको छ।
प्रमुख श्रेष्ठले बाँकेको नेपालगञ्जबाट २० हजार लिटर क्षमताको हवाई इन्धन (एटिएफ) ल्याएर तयारी अवस्थामा राखिएको बताए।
२०११ सालदेखि हवाई सेवा सञ्चालनमा आएको टरिगाँउ एयरपोर्टको धावन मार्ग पछिल्लो समय लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री हुँदा छुट्याइको बजेटले ३० मिटर चौडाइ र ७ सय ५० मिटर लम्बाइ मात्रै कालो पत्रे गरिएको छ। जसले गर्दा यहाँ ठूला जहाज अवतरण गर्न सक्दैनन्। जिल्लाको एक मात्र यो विमानस्थलमा अहिले १९ सिटे सानो जहाजले मात्रै सेवा दिँदै आएका छन्।