बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो।
यस्ता बच्चाको बोलीमा समस्या देखिन्छ। उनीहरूलाई बुझ्न र बुझाउन गाह्रो हुन्छ। समाजमा कसरी मिलेर बस्ने भन्ने ज्ञान हुन्न। एक किसिमको अनौठो व्यवहार देखाउँछन्।
उमेर नपुगी छिटो जन्मिएको बच्चामा, जन्मिएपछि कुनै समस्या आयो भने र उमेर धेरै भएका आमा बाबुबाट जन्मिएका बच्चामा अटिजम देखिनसक्छ।
अहिलेको अवस्थामा वातावरण प्रदूषणलेसमेत यसको खतरा बढ्छ। तर अटिजम यही कारणले हुन्छ भनेर अहिलेसम्म कुनै पुष्टि हुन सकेको छैन।
पछिल्लो १० वर्षको अवधि हेर्ने हो भने नेपालमा अटिजम हुनेको संख्या अत्यधिक बढेको छ। नेपालको सन्दर्भमा हामीसँग यकिन डाटा छैन। तर विश्व स्वास्थ्य संगठनका अनुसार हरेक सय बच्चामा एक जनालाई अटिजम हुने गरेको छ। अमेरिकाको डाटा धेरै भयावह छ। त्यहाँ हरेक ४४ बच्चामा १ जनालाई अटिजम हुन्छ।
अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ। जसले गर्दा उनीहरू कक्षामा पनि आफ्ना अरू साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन्।
कतिपय शिक्षकले थाहा पाएपछि बच्चालाई अस्पातल ल्याइन्छ भने कतिपय अवस्थामा अभिभावकले आफैंले थाहा पाउँछन्।
अहिले ‘मेरो बच्चा किन बोलेन?, भनेर चिकित्सककहाँ ल्याउने गरिएको छ। अटिजमबारे जनचेतना बढेको छ। यसकै कारणले पनि संख्या बढेको हो कि भन्ने लाग्छ।
जब आफ्नो बच्चालाई अटिजम हुन्छ त्यसपछि धेरैले इन्टरनेटमा यसबारे खोज्छन्। इन्टरनेटमा हजारौं सूचना हुन्छ। कति काम लाग्छन्, कति काम नलाग्ने हुन्छन्।
केही अभिभावक आफ्ना बालबच्चालाई अटिजम भएको थाहा पाउनासाथ चिन्तामा हुन्छन्। उनीहरूलाई यो स्वीकार्नै समय लाग्छ।
बच्चालाई अटिजम भयो भन्नासाथ उपचारका लागि दौडादौड हुन्छ।
अटिजम के हो भन्ने नबुझी दौडिँदा पाउनुपर्ने उपचारसमेत बालबच्चाले पाएका हुँदैनन्।
जब अटिजम भनेर थाहा हुन्छ। सबैलाई डर लाग्छ। तर त्यसबारे ज्ञान बढाउन सकियो र बुझ्न सकियो भने सामना गर्न सजिलो हुन्छ। थेरापीको लागि दौडिन भन्दा पहिला अभिभावकले अटिजमबारे बुझ्न जरूरी हुन्छ।
परिवारले ख्याल राख्ने र सामान्य हेरचाह गर्ने गर्दा पनि यो समस्याको निदान हुन्छ। तर यसलाई ठूलो समस्या या निको नहुने रोगका रूपमा लिने सामाजिक सोचले गर्दा समस्या परिवारभित्रै झन् बल्झिँदै जाने गरेको देखिन्छ।
यो रोग होइन। यो अवस्था हो। यसमा औषधि भन्दा पनि थेरापीबाट उपचार गरिन्छ। यो पूर्ण रूपमा ठीक हुन कठिन छ। हरेकमा देखिने अटिजमको लक्षण फरक फरक हुनसक्छ। थेरापीबाट अटिजमको जटिलता कम गर्न सकिन्छ।
अटिजमको उपचारको धेरै पद्धति छन्। ती उपचार पद्धतीले कसरी मद्धत गर्छ भने बुझ्न जरूरी छ।
सबैभन्दा पहिला आफ्नो बच्चालाई बुझ्न जरुरी छ। उसको क्षमता के हो कमजोरी के हो पत्ता लगाउनुपर्छ। उसका इन्द्रीयले कसरी काम गर्छन् भनेर परीक्षण गर्नुपर्छ। त्यसैले थेरापी मात्रै भनेर दौडिनु हुँदैन।
औषधिको पनि अटिजममा भूमिका छ। बच्चा धेरै आक्रमक भयो भने, निन्द्रामा धेरै समस्या भयो भने औषधिको प्रयोग गर्नुपर्छ।
अटिजमले विभिन्न खाले समस्या पारिरहेको हुन्छ।
पहिलो, कतिपय बच्चालाई कुनै सहयोगनै चाहिँदैन। दोस्रो, बच्चालाई केही सहयोग चाहिनसक्छ। तेस्रो किसिमका बच्चालाई अभिभावकको धेरैनै सहयोग चाहिन्छ।
धेरैजसो बच्चालाई ठूलो भइसकेपछि कम पनि हुँदै गएको छ। त्यसैले बेलैमा उसको हेरचाह गर्न सक्यौं भने ठूलो हुँदै गएपछि कम हुनसक्छ।
नेपालको सन्दर्भमा अटिजम भएका बच्चालाई पढाउने विद्यालय निकै कम छन्। कतिपय ठाउँमा यस्ता सुविधा पनि हुन्छ। बच्चालाई अलग्गै स्कुलमा राख्नुभन्दा थेरापिस्ट र शिक्षकको सल्लाहमा सामान्य स्कुलमै राख्न उपयुक्त हुन्छ।
आमाबुवाले बालबालिकालाई यथेष्ट समय दिनुपर्छ। उनीहरूलाई रचनात्मक काममा क्रियाशील गराउनुपर्छ र आफ्नो बच्चाको मानसिक क्षमताबारे बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह, सुझाव लिनुपर्छ। किनकि जति छिटो बच्चाको अवस्था थाहा हुनसक्यो, त्यति नै उनीहरूमा भएका समस्याको पहिचान गर्न र उनीहरूमा आवश्यक अन्य सञ्चार प्रक्रियालाई सहज तुल्याउन मद्दत पुग्ने हुन्छ।
त्रिवि शिक्षण अस्पतालकी सह-प्राध्यापकसमेत रहेकी बालरोग विशेषज्ञ डा. मेरिना श्रेष्ठसँग अटिजमबारे सेतोपाटीका लागि सन्जिब बगालेले गरेको भिडिओ कुराकानी हेर्नुहोस्।