संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेका छैनन्।
मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए।
उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन्। कैलालीबाट उनकी श्रीमती कमला संखुवासभा आइपुगेकी छन्। ‘घट्नाको सत्यतथ्य छानबिन हुनुपर्छ”, कमलाले भनिन्।
महतराको शव जिल्ला अस्पतालमा राखिएको छ।
महतरा गत जेठ १२ गते अरुण तेस्रोमा काम गर्न सङ्खुवासभा आएका थिए। अरुण तेस्रोले राहत उपलब्ध गराउनुपर्ने महतरा परिवारको माग छ।
उनकी श्रीमतीले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा घटनाको छानबिनका लागि माग गरेकी छिन्। मृतकका परिवारलाई उचित राहत दिलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज कोइरालाले बताए।
अरुण तेस्रोमा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदुर कार्यरत छन्।