भक्तपुर नगरपालिका दरबारक्वायर परिसरको पूर्वी चोकको उत्तरतर्फ रहेको ऐतिहासिक शिलु महादेव मन्दिरमा ३७१ वर्ष पुरानो ‘बो’ सिंह अर्थात् उड्ने सिंह पुनः स्थापना गरिएको छ।
विसं १९९० को महाभूकम्पमा भत्किएपछि शिखर शैलीको उक्त मन्दिरलाई फर्सी आकारमा निर्माण गरिएपछि फर्सी देवका रुपमा चिनिँदै आए पनि विसं २०७२ को भूकम्पले मन्दिर पुनः भत्किएको थियो।
अहिले १९९० साल भन्दा अगाडिकै स्वरुपमा शिखर शैलीमा मन्दिर पुनःनिर्माण भइरहेको छ । हाल पुनःनिर्माणको अन्तिम चरणमा पुगेको उक्त मन्दिरमा मल्लकालीन बो सिंह अर्थात् उड्ने सिंह पुनः स्थापना गरिएको हो ।
राजा जयप्रकाश मल्लको पालामा विसं १७०७ मा बनेको ऐतिहासिक नीलकण्ठेश्वर महादेवका नाममा समेत चिनिने शिलु महादेव मन्दिरमा बाजागाजाका साथ बो सिंहलाई ल्याएर पुनःस्थापना गरिएको छ । भक्तपुर दरबारस्क्वायरको गोसाईं कुण्डका रुपमा समेत चिनिने यो मन्दिरको चारैतर्फ रहेको उड्ने सिंह स्थापना गरिएको थियो।
विसं १९९० सालको भूकम्पमा मन्दिर भत्किएपछि ८८ वर्ष अगाडि दुई वटा सिंहलाई भक्तपुर नगरपालिकाको पुरानो भवनको ढोकामा र दुई वटालाई भक्तपुर नगरपालिका–७ गोल्मढीस्थित गःहिटी (ढुङ्गे धारा)को दायाँबायाँ राखिएको थियो।
भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरको पहलमा बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको हो। स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले गोल्मढीको गःहिटीमा एक जोडी नयाँ बो सिंह पुनःस्थापना गरिदिएर ऐतिहासिक सिंहलाई त्यहाँबाट झिकेर पुनः शिलु महादेव मन्दिरमै पुनःस्थापना गरिएको कार्यालयकी प्रमुख अरुणा नकर्मीले जानकारी दिइन्।
मन्दिरको पेटीका पाँचमध्ये तीन तहमा जोर जनावर राख्ने परम्परा लिच्छिवी तथा मल्लकालदेखि रहँदै आएको छ। शिलु महादेव मन्दिरमा सबभन्दा तल हात्ती, त्यसको माथि दोस्रो तहमा सिंह र सोभन्दा माथि साँढे राखिएका छन्। मन्दिरका देवताको पहरेदारको रुपमा ढोका वा सिँढीमा सिंह र अन्य जनावर राख्ने ऐतिहासिक परम्परा हो। यसलाई धार्मिक आस्थासँग पनि जोडिने गरिन्छ ।
नेवारी भाषामा शिलुलाई गोसाइँकुण्ड भनिन्छ। स्थानीयवासीका अनुसार गोसाइँकुण्ड जान नसक्ने बालबालिका, ज्येष्ठ सदस्य एवं अशक्त भक्तजनका लागि यो मन्दिर १७ औं शताब्दीतिर बनेको हो।
करिब चार करोडको लागतमा पुनःनिर्माण भएको यस मन्दिरको दायाँबायाँ अन्य दुई मन्दिर पनि रहेको पुराना तस्बिरमा देख्न पाइन्छ। विसं १९९० अगाडि यस मन्दिरको बायाँपट्टि कुनामा हरिशङ्करको मन्दिर रहेको थियो । जसलाई नेपाल भाषामा लाँ पाँ देग अर्थात् बाटो छेकेर बनाइएको मन्दिर वा देवल भनेर चिनिने यो मन्दिर भने अहिले यहाँ देखिँदैन ।
यो मन्दिर १९९० सालको भूकम्पमा भत्किएपछि नयाँ नबनाउँदा मन्दिर देख्न पाइँदैन भने यहाँको मूर्ति राष्ट्रिय कला सङ्ग्रहालय, भक्तपुरमा राखिएको छ। शिलु महादेव मन्दिरको दायाँतर्फ भने भूइँ तलामा दक्षिणामूर्तिको मन्दिर र माथिल्लो तलामा भक्तपुरको दिगु तलेजुका मन्दिर रहेको संस्कृतिविदहरूको भनाइ छ।
विसं १९६५ र १९९० को भूकम्पमा धराशायी बनेका तीन तले माथि गुम्बज शैलीको ती मन्दिर पनि १९९० सालपछि पुनःनिर्माण नहुँदा तस्बिरमा मात्रै देख्न पाइन्छ।