मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरूङ मार्ग बनाउन अध्ययन थालिने भएको छ।
लोकमार्ग बागलुङको काठेखोलास्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरूङ मार्ग अध्ययन गरिने भएको छ। यसका लागि संघीय सरकारले ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरूङ मार्ग अध्ययनका लागि ५० लाख रुपैयाँ रकम विनियोजन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।
सरकारले आर्थिक वर्ष २०७९/८० का लागि २४ नयाँ सुरूङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ। तीमध्ये मध्यपहाडी लोकमार्गको अछेते–गलकोट खण्डको सुरूङ मार्ग समावेश भएको हो।
गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेत–बिहुँ देखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गरेका थिए।
आगामी आर्थिक वर्षमा सम्भाव्यताको काम अगाडि बढ्ने उनले जानकारी दिए। अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा सुरूङ मार्ग बनाउँदा यात्रा करिब डेढ घण्टा यात्रा छोट्टिनेछ।