पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण पर्वतकी एक महिला बनेकी छ। जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरूङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी हुन्।
स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरूङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी हुन्।
‘त्यो बेला पढ्ने उमेरमा विभिन्न कारणले पढ्न पाइएन, अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ’, उनले भनिन्। उनका श्रीमान सुकबहादुर गुरूङ मोदी– ८ चित्रेकै वडाध्यक्ष हुन्।
श्रीमती विद्यालयमा भर्ना हुनेबारे उनीहरूबीच सल्लाह भएको थिएन।
आफू कार्यालयबाट फर्किएर घरमा पुग्दा पढेर आएको सुनाउँदा अचम्ममा परेको उनको भनाइ छ।
शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि अरूलाई प्रेरणा मिल्ने सुकबहादुरले बताए।
‘स्कुल भर्ना हुन्छु भन्ने घर सल्लाह नै थिएन। वडाबाट फर्किंदा लौ म त कक्षा १ मा भर्ना भएर आएँ भनिन्’, उनले भने, ‘म त अचम्ममा परेँ, यसले अरू निरक्षर प्रौढलाई पनि राम्रो सन्देश जान्छ भन्ने लागेको छ।’
आफ्ना नाति-नातिनाले अध्ययन गर्ने तहमा बसेर उनीहरूसँगै खेल्दै रमाउँदै गरेर सिक्दा झनै रमाइलो हुने गरेको विष्णुको अनुभव छ।
‘गाउँमा कति हो कति पाहुना आउँछन्, लौ आमा यो पढ्नु, यो हेर्नु भन्दा मलाई केही पनि आउँदैन भन्दा लाजको मर्नुहुन्थ्यो अब भने पढ्न जान्दछु कि भन्ने विश्वास बढेको छ’, उनले सुनाइन्।
विष्णु जिल्लाकै नमूना हामेस्टे रहेको चित्रेमा आएका धेरै पाहुनालाई खुवाउने, बसाउने र गाएर रमाइलो बनाउने गर्छन्।
विष्णु भर्ना भएसँगै विद्यालयमा वातावरण रमाइलो बनेको र अरू साना उमेरका विद्यार्थी पनि सिकाइका लागि उत्प्रेरित भएको विद्यालयका प्रधानाध्यापक एकनारायण तिमिल्सिनाले बताए।
पुराना पुस्ताका व्यक्तिले अझै पनि अध्ययनमा चासो देखाउनुले समाजमा पठन संस्कृतिको विकास हुने र त्यसले हरेक विद्यार्थीलाई अध्ययनशील बनाउने उनको भनाइ छ।