बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।
यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको महानगरले जनाएको छ।
सहरी विकास मन्त्रालयले फोहोरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै महानगरलाई केही दिन गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागेको हो।
बिहीबारदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिने महानगरका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्।
बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए।
महानगरले बुधबार एक सूचना जारी गर्दै सोही अवधिमा आआफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोर सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबभन्दा बढी काठमाडौं महनगरको ५०० मेट्रिक टन फोहर निस्किन्छ। निजी र महानगरको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडी मात्र सिसडोल पुग्ने गरेका छन्।