ग्वार्को ‘फ्लाई ओभर’ को काम आगामी भदौदेखि सुरूआत गरिने भएको छ। सरकारको लगानीमा पहिलोपटक सो ‘फ्लाई ओभर’ बनाउन लागिएको हो।
वैदेशिक लगानीमा यसअघि नागढुंगा सुरूङमार्ग आयोजनाअन्तर्गत ‘फ्लाई ओभर’ को निर्माण अघि बढाइएको थियो।
गत आवमा नै ठेक्का भइसकेको निर्माण कम्पनी आफैंले ‘डिजाइन’ गरेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।
निर्माण कम्पनीले तयार गरेको ‘डिजाइन’ प्रतिक्रियाका लागि सरकारलाई पेस गरिएको केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर (सिडिइ) सौरभ बज्राचार्यले बताए।
सरकारले दिएको सुझाव समेटेर पुनः डिजाइन आउने र यसपछि निर्माणमा जाने भएको छ।
डिजाइन स्वीकृत भएपछि निर्माणमा जाने र त्यसको डेढ वर्षमा सम्पन्न गरिने उनले बताए।
यसको अवधि दुई वर्ष रहेकामा चार महिना सकिएर २० महिना बाँकी छ।
उनले भने, ‘तयारीका लागि अहिलेसम्म समय तालिकाभन्दा ढिला छैन।’
डिजाइन आएपछि केन्द्रले २१ दिनभित्रमा डिजाइन स्वीकार गर्नुपर्ने उनले बताए। विभागीय प्रक्रिया पूरा गरेर केन्द्रले साउनको अन्तिमसम्ममा स्वीकृति दिनेछ।
उनले भने, ‘भदौबाट नै कम्पनीले भौतिक काम सुरू गर्न सक्नेछ।’
‘फ्लाई ओभर’ लम्बाइ, चौडाइ, उचाइ लगायतका विषयमा यसअघि नै केन्द्रले खाका बनाएको छ।
सामान्यतया ती कुरा परिवर्तन नभएर भित्रको केही कुराजस्तै डन्डी कति हाल्ने, कङ्क्रिट कति हाल्ने भन्ने कुरा डिजाइनमा उल्लेख हुने उनले बताए।
सरकारले चालु आवको नीति तथा कार्यक्रममा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाई ओभर’ निर्माण गर्ने उल्लेख गरेको छ।
तीन वटै ‘फ्लाई ओभर’ का लागि एक अर्ब ३४ करोड चाहिन्छ। अर्थ मन्त्रालयबाट त्यो रकमका लागि सहमति आएपछि ठेक्का प्रक्रियामा जान सकिने उनले बताए।
चालु आवको बजेटमा तीनै वटाका लागि रु २५ करोड छुट्टाइएको छ। साउन अन्तिमसम्ममा बहुवर्षीय ठेक्का लागि सहमति आएपछि ठेक्कामा जान सकिने सिडिई बज्राचार्यले बताए।
सरकार आफैंले इपिसी (इञ्जिनियरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन) सम्झौता गरी पहिलो ‘फ्लाई ओभर’ निर्माण गर्न लागेको हो। यसमा ‘डिजाइन एण्ड बिल्ड’ सम्झौताजस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गर्ने केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर बज्राचार्यले बताए।
चुनौती बहन गर्ने विषय इपिसीमा ‘डिजाइन एण्ड विल्ड’ भन्दा फरक छ। यसमा निर्माण व्यवसायीको बढी जिम्मेवारी हुन्छ। ‘डिजाइन एण्ड विल्ड’ मा केही कुरा सम्बन्धित आयोजनाले हेर्छ भने इपिसीका सम्पूर्ण काम र जिम्मेवारी कम्पनीको हुने उनले बताए।
इपिसीअनुसार निर्माण गर्दा निर्माण कम्पनीले डिजाइन परिवर्तन गर्न पाउँछ। कार्यालयले यस्तो हुनुपर्छ भनेर ‘कन्सेप्ट’ दिएमा आवश्यकताअनुसार केही परिवर्तन गरेर डिजाइन तयार हुने सिडिई बज्राचार्यले बताए।
अहिले ‘फ्लाई ओभर’ का लागि सुरूमा ट्राफिक व्यवस्थापनमा केही परिवर्तन गर्नुपर्ने देखिएको छ।
संरचनमा परिवर्तन नभए पनि ट्राफिक व्यवस्थापनमा केही परिवर्तन हुनसक्ने देखिएको छ।
निर्माणको समयमा र निर्माण भएर ‘फ्लाई ओभर’ सञ्चालनमा आएपछि कता कताबाट कसरी सवारी साधन सञ्चालन र व्यवस्थापन गर्ने भन्नेमा केही परिवर्तन हुने देखिएको छ।
निर्माणको अवधिमा मुख्य लेनमा सवारी साधन चल्न नपाउँदा सडक व्यवस्थापनका लागि सर्भिस लेन मात्रै पर्याप्त नहुने देखिएको छ।
सहायक लेनले धान्न नसक्दा त्योभन्दा बाहिरको लेन (सर्भिस लेन) प्रयोगमा ल्याउनुपर्ने हुनसक्छ। चक्रपथको सो खण्डमा कतै सर्भिस लेन बनिसकेको छ भने कतै सम्पन्न हुन बाँकी छ।
फागुन १९ मा डिजाइन सुरू भएको थियो। सरकार आफैंले निर्माण गर्न लागेको पहिलो ‘फ्लाई ओभर’ सरकार र निर्माण व्यवसायी दुवैका लागि नयाँ हो। अहिलेसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि धेरै सडक र पुल बनाइसकेकाले जिम्मेवारी नेपाली व्यवसायीलाई नै दिइएको हो।
नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत अन्य ठूला र जटिल खालका पुल बनाएर आफूलाई प्रमाणित गरिसकेका छन्।
जगको काम गर्दा मुख्य सडक अवरूद्ध हुने भएकाले त्यसको विकल्प आवश्यक देखिएको हो।
माथिल्लो भागमा रहने मुख्य संरचना (सुपर स्ट्रक्चर) अन्यत्रै बनाएर राख्न खोजिएको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाई ओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ।
बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि ‘फ्लाई ओभर’ पुगिनेछ। त्यतातर्फ २८० मिटर लामो र्याम हुने र सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको र्याम हुने बताइएको छ।
सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाई ओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ।
मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन्।