उत्तरगंगा नदीमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन्।
रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगंगा वारपार गर्ने सवारी साधन ठप्प छन्। वर्षात् सुरू भएसँगै जेठको अन्तिम साताबाटै सवारी साधन उत्तरगंगा नदी वारपार गर्न छाडेपछि स्थानीयवासी समस्यामा परेका छन्।
अहिले उत्तरगंगा नदीको बहाव झन् बढेको छ। अहिले रूकुमकोटबाट तकसेराका लागि जाने सवारी साधन तल्लो सेरासम्म जाने गरेका छन् भने सवारी साधनमा गएका मानिस उत्तरगंगा पारिपट्टिबाट अर्को सवारी साधन फेरेर तक र त्यसभन्दा उतापट्टिका क्षेत्रमा जानुपर्ने अवस्था रहेको स्थानीय दिलु बुढाले बताए।
उनका अनुसार मोटरसाइकल र पैदलयात्री भने झोलुंगे पुलबाट वारपार गर्ने गरेका छन्।
पुल नहुँदा नै बर्खाको समयमा सामान ढुवानीमा पनि समस्या हुँदै आएको छ।
अहिले तकसेरामा सडक पुगेको १० वर्ष पूरा भइसकेको छ। अहिलेसम्म पुल नहुँदा उत्तरगंगा वारपारको अवस्था सहज नभएको स्थानीयवासीले बताएका छन्।
मध्यपहाडी लोकमार्ग हुँदै सहिद मार्गले गाउँलाई जोडेको भए पनि उत्तरगंगा नदीले फेरि सडकबाट अलग भएको जस्तो गराइरहेको छ।
यस वर्ष पनि उत्तरगंगाको बहाव बढेसँगै उत्तरगंगा पारिपट्टि चल्ने सवारी साधनका लागि तकसम्म पुग्ने सवारीले तेल ढुवानी गरिदिएर सहयोग गर्ने गरेको यातायात व्यवसायी भूपेन्द्र बिएमले बताए।
यो सहिदमार्ग अन्तर्गतको रूकुमपूर्व–रोल्पा–दाङ सडकखण्डको पुथाउत्तरगंगामा मुख्य सडक हो।
पुल निर्माणका लागि डिपिआर भइसकेको थियो। हालसम्म पनि पुल निर्माण हुनसकेको छैन। पुल बनाउने प्रक्रिया सुरू भएको लामो समयसम्म काम थालनी नहुनु दुःखद् भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताए।
अब भने छिट्टै पुल निर्माणको प्रक्रिया सुरू हुने अध्यक्ष घर्तीले बताए।
पुल निर्माणका लागि डिपिआर गरेर काम अघि बढाउने क्रममा तल्लो सेरा र माथिल्लो सेराबीचमा पुल बनाउने ठाउँका विषयमा विवाद भएको थियो।
–––