पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिनेहरूबाट कोरोनाको संक्रमण देखिन थालेको छ।
भारतबाट फर्कनेहरूमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले परीक्षण गर्न थालेका हुन्।
शंकास्पद व्यक्तिमा सीमा क्षेत्रमै एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ। सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँचजनामा कोरोनाको संक्रमण देखिन थालेको छ। भारतबाट फर्कनेमध्ये शंकास्पद व्यक्तिमा एन्टिजेट विधिबाट परीक्षण गर्दा पोजेटिभ नतिजा आउनेको संख्या बढ्दो छ।
‘एक साताको अवधिमा २२ जनामा संक्रमण देखिएको र आइतबार बिहान मात्रै चार जनाको नतिजा पोजेटिभ आएको पाइएको छ,’ उनले भने, ‘गत मंगलबार पनि नौ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो।’
दैनिक दुई सयभन्दा बढीमा एन्टिजेन परीक्षण हुँदै आएको छ। परीक्षण गर्दा नतिजा पोजेटिभ आएकालाई सीमा क्षेत्रबाटै एम्बुलेन्सनमार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको र अस्पतालमा परामर्श पश्चात होम आइसोलेशनमा पठाइने गरिएको हेल्थडेस्क प्रमुख भट्टले जानकारी दिए।
कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटलगायत सामग्री हालसम्म अभाव नरहेको उनले बताए। दैनिक सीमा नाका भएर फर्कनेको संख्या चार सयदेखि पाँच सयको संख्याको हाराहारीमा रहने गरेको छ।
भारतबाट फर्कने व्यक्तिमा कोरोनाको संक्रमण देखिन थालेपछि परीक्षणलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए।
कोरोनाविरूद्ध जनचेतना फैलाउने कार्यसँगै पालिकामा कोरोनाविरूद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो।
‘कोरोको संक्रमण पुनः फैलिन सक्ने सम्भावना भएकाले पूर्वतयारीका कार्य गरिरहेका छौं,’ कार्यालय प्रमुख सुनारले भने, ‘रोकथामका लागि करारमा नियुक्त कर्मचारीको म्याद थप्ने नथप्ने बारे अन्यौल भएको छ, म्याद नथपे स्वास्थ्यकर्मीको अभाव हुन्छ।’
हालसम्म कोरोना संक्रमणका कारण अस्पतालमा कोही पनि भर्ना भएका छैनन्।