प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने बागमतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताएका छन्।
खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको फोहर पानी प्रशोधन केन्द्रको आइतबार उद्घाटन गर्दै उनले यसले विश्वका हिन्दुको आस्थाको केन्द्र पशुपतिनाथमा धार्मिक पर्यटक बढ्ने बताए। पशुपति क्षेत्रमा स्वच्छ पानी बग्न थालेपछि धार्मिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने प्रधानमन्त्री देउवाको विश्वास थियो।
'पशुपति क्षेत्रको बागमतीमा स्वच्छ पानी बगाउन एक करोड ६० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रले केही सहयोग गरेको थियो। अब नयाँ प्रशोधन केन्द्रबाट तीन करोड २४ लाख लिटर पानी प्रशोधन भएपछि यस क्षेत्रको बागमतीमा सङ्लो पानी बग्ने आशा गरिएको छ,' उनले भने।
गुह्येश्वरीको फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएसँगै बालकुमारी, धोबीघाट, सल्लाघारी, हनुमानघाट, गोकर्णलगायत स्थानमा पनि केन्द्र निर्माणमा तीव्रता दिन प्रधानमन्त्री देउवाले सम्बन्धित निकायलाई निर्देशन दिए।
खानेपानीमन्त्री उमाकान्त चौधरीले बागमती र यसका सहायक नदी स्वच्छ, सफा, हराभरा एवं जीवन्त राख्न विभिन्न प्रयास सुरू भएको बताए।
सरकारको १५औं योजनाअनुसार प्रशोधनसहितको पानीबाट लाभान्वित जनसंख्या २० प्रतिशत तथा दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य रहेको उनले जानकारी गराए।
'हालसम्म सरकारको ध्यान सम्पूर्ण नेपाली जनतालाई खानेपानी उपलब्ध गराउनेतर्फ केन्द्रित छ। पानी प्रशोधनलाई पनि प्राथमिकताका साथ एकीकृत रूपमा अगाडि बढाउनु आजको आवश्यकता हो। ढल तथा फोहोर पानी व्यवस्थापन गर्ने काम विभिन्न निकायबाट भइरहेकामा यी निकायबीच उपयुक्त समन्वयको अभावमा अपेक्षित लक्ष्य हासिल गर्न सकिएको छैन,' उनले भने।
अपेक्षित लक्ष्य हासिल गर्न ढल तथा फोहोर पानी व्यवस्थापनसम्बन्धी सम्पूर्ण कामको मापदण्ड तथा नीतिमा एकरूपता कायम गर्दै ठूला आयोजनाको हकमा एउटै छाताअन्तर्गत कार्यान्वयन गर्न आवश्यक देखिएको मन्त्रालयले जनाएको छ। यो केन्द्रबाट ९९५ हेक्टरका करिब तीन लाख नागरिक लाभान्वित हुनेछन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले नयाँ सहरमा अनिवार्य रूपमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका लागि योजना बनाइने प्रतिबद्धता जनाए। यसतर्फ आयोगले ध्यान केन्द्रित गरेको जानकारी पनि उनले गराए।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राजधानी सहरमा ढलबाट सिधै नदीमा ढल हालिएकाले नदी फोहोर बनेको बताए।