जिल्ला प्रशासन कार्यालय, पर्साले सेवाग्राहीको सजिलोका लागि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फारम पालिकास्तरबाट भर्न सक्ने गरी व्यवस्थापन गरेको छ।
राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलाई छिटोछरितो र व्यवस्थित बनाउनको लागि दुबै अनलाइन फारम जिल्लाका चौध वटै पालिकाबाट भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
अब उक्त सेवा लिन सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फारम भरेरमात्र प्रशासन कार्यालय आउनुपर्ने छ।
प्रशासन कार्यालयका अनुसार सबै पालिकामा यी काम हेर्ने व्यक्ति तय गरेको र उनीहरूको सम्पर्क नम्बर सूचनामार्फत् सार्वजनिक गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट भर्ने सेवाग्राही ठगिएका र सो ठगीमा संलग्न छ जनालाई यस अगाबै कारबाही गरेपछि यो व्यवस्था गरेको हो।