अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरूद्ध भएको छ।
आज दिउँसो भीमफेदी गाउँपालिका–२ मा माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सो सडकखण्डमा यातायात अवरूद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
पहिरोका कारण सडक अवरूद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारीसाधन रोकिएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन्।
उनका अनुसार हेटौंडातर्फ आउने सवारी साधन भीमफेदीमा र विपरीत दिशाबाट जाने सवारी साधन भैंसेमा रोकिएका छन्।
उक्त सडकखण्डमा खसेको पहिरो पन्छाउन सुरू गरिएको छ।
जिल्लाको त्रिभुवन राजपथ, कान्तिलोकपथमा सबै सावारीसाधन सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।