बैतडीको दोगडाकेदार गाउँपालिकामा एक हप्तादेखि विद्युत् सेवा अवरूद्ध भएको छ।
एक हप्तासम्म पनि विद्युत् सेवा सञ्चालन नहुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको लापरबाहीका कारण समयमै विद्युत् सेवा सञ्चालन नभएको उपभोक्ताको गुनासो छ।
विद्युत् अवरूद्ध भएको सात दिन बितिसक्दा पनि प्राधिकरणको ध्यान नगएकाले अन्धकारमा बस्न बाध्य स्थानीय जनक सिंह ठगुन्ना बताए।
विद्युत् नहुँदा मोबाइल चार्ज, मिल सञ्चालन गर्न सकिएको छैन।
यता विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले भने विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको जनाएको छ।
चट्याङका कारण ट्रान्सफर्मरमा क्षति हुँदा विद्युत् सेवा नियमित गर्न ढिलाइ भएको केन्द्रका कार्यालय प्रमुख पवन भट्टले जानकारी दिए।