म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ।
तीन जना बेपत्ता भएका छन्।
घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो।
घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ।
गोठे र उनकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन्।
घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन्।
स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको बताए।
घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ।