सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा द्वारकाधाम निर्माण हुने भएको छ।
श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्रले बिहीबार गरेको पत्रकार सम्मेलनमा पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्वारकाधाम जस्तै धाम गुन्डुमा बन्ने बताएको हो।
पाथिभरा मन्दिरका मूल गुरु अरविन्द शास्त्रीले भने, 'भक्तपुरको गुन्डुमा २०७५ सालमा पाथिभरा मन्दिर बनाएर यहाँको धार्मिक विकासमा टेवा पुर्याएका छौं। अब पाँच वर्षभित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो पटक द्वारका धाम निर्माण गर्न लागेका छौं। यसले धार्मिक पर्यटनको विकासमा समेत टेवा दिनेछ।'
यही साउन २५ गते शिलान्यास हुने द्वारकाधाम करिब आठ रोपनी क्षेत्रफलमा फैलिने उनले जानकारी दिए। यसको लागत करिब १० करोड रूपैयाँ हुने गुरुयोजनाका साथ काम अगाडि बढाइएको उनले बताए।
द्वारका धामको मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउँदै उनले यहाँ राखिने मूर्ति भारतको द्वारकाधाममै बनिरहेको जानकारी दिए। तीनवटै सरकार र दाताबाट संकलन हुने रकमबाट मन्दिर बनाउने लक्ष्य राखेको पनि उनले बताए।
'द्वारका धामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषि मूर्ति स्थापना गरिनेछ,' उनले भने।
पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले द्वारकाधाम बनेपछि यहाँको धार्मिक पर्यटन विकास हुने र दर्शन गर्न भारत गइरहनु नपर्ने बताए। उनले द्वारका धाम निर्माणका लागि वडा तथा नगरपालिकाले आवश्यक सहयोग गर्ने जानकारी दिए।